राष्ट्रपति ट्रम्पका सञ्चार निर्देशक बरखास्तः कर्मचारी व्यवस्थापनमा समस्या

स्कारामुचीले दिएको अन्तर्वार्ता अनुपयुक्त भएको दावी

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नियुक्ति दिएको दश दिन नपुग्दै आफ्ना सञ्चार निर्देशक एन्थोनी स्कारामुचीलाई बरखास्त गरेपछि ह्वाइट हाउसमा कर्मचारी व्यवस्थापनमा समस्या देखिएको छ।

ह्वाइट हाउसका अधिकारीहरुले स्कारामुचीले हालै एक पत्रिकालाई दिएको अन्तर्वार्तामा राखेका धारणाहरु राष्ट्रपति ट्रम्पलाई अनुपयुक्त लागेको जनाएका छन्।

एक जना धनी वित्तीय लगानीकर्ता रहेका स्कारामुचीले केही दिन पहिले पदबाट हटाइएका चिफ अफ स्टाफ राइन्स प्रिबसविरुद्ध अशिष्ट भाषामा आक्रोश पोखेका थिए।

ह्वाइट हाउसकी प्रेस सचिव सेराह हकाबी स्यानडर्सले अब राष्ट्रपति कार्यलयका सबै कर्मचारीले नयाँ चिफ अफ स्टाफ जन केलीलाई सिधैँ प्रतिवेदन बुझाउनुपर्ने बताइन्।

राष्ट्रपति ट्रम्पले चाँहि उनको विचारमा ह्वाइट हाउसका लागि एउटा महत्वपूर्ण दिन भएको समाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

१० दिन अघि मात्रै न्युयोर्कबाट द्रुत गतिमा ह्वाइट हाउस प्रवेश गरेका स्कारामुची र राष्ट्रपति ट्रम्प दूवैमा स्थापित मान्यताहरु नरुचाउने प्रवृति रहँदै आएको छ।(अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट)