आफ्नै निर्देशन कुल्चँदैु गृहमन्त्री

काठमाडौं । सुरक्षा निकाय चेन अफ कमान्डमा चल्ने संस्था हो । प्रचारबाजी गर्ने, वक्तव्यबाजी गर्ने र अनावश्यक अन्तर्वार्ता दिने प्रवृत्ति अन्त्य गर्नुस् पदभार ग्रहण गर्नेबित्तिकै गृहमन्त्री जनार्दन शर्माले सुरक्षा निकायलाई दिएको निर्देशन हो ।

सुरक्षा निकायलाई कमान्डमा राख्ने नेतृत्व पाएका शर्मा आफैँ भने आफ्ना दैनिक गतिविधि ट्विटर र फेसबुकमार्फत सार्वजनिक गरिहाल्छन् ।

सुरक्षाजस्तो संवेदनशील निकायको कमान्ड सम्हालेका मन्त्री शर्माले ऊर्जा मन्त्रालयमा हुँदाजस्तै सस्तो प्रचारु रुचाउने गरेको उनको कार्यशैलीले पुष्टि गर्छ । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा रहेका अन्य मन्त्रीभन्दा उनी अलि बढी नै सामाजिक सञ्जालमा अभ्यस्त देखिन्छन् ।

मन्त्रालयमा सुरक्षा निकायबीच भएको गोप्य बैठकका विषयसमेत मन्त्री शर्माले सार्वजनिक गरेका छन् । गत जेठ २४ गते पदबहाली गरेका उनले नेपाल प्रहरीको संघीय संरचना निर्माण र ८४ बुँदे कार्ययोजनाबारे भएको छलफलबारे फेसबुकमा भिडियोसहित पोस्ट गरे ।

त्यति मात्रै होइन, डीएसपी सञ्जीव शर्मा दासलाई निलम्बन गर्न निर्देशन दिएको कुरासमेत उनले फेसबुकबाटै सार्वजनिक गरिदिए । जबकि प्रहरीको आन्तरिक कारबाही अति गोप्य मानिन्छ ।

मुद्दा मामिलामा गएपछि अदालतबाट मात्रै दोषी ठहर्ने व्यवस्थाविपरीत शर्माले निलम्बन गर्न दिएको निर्देशन सार्वजनिक गर्नु उपयुक्त नभएको प्रहरी अधिकृतहरू बताउँछन् । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।