राष्ट्रपति ट्रम्पको चिफ अफ स्टाफमा केली नियुक्त

प्रिबसले पदबाट राजीनामा

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसका नयाँ सञ्चार निर्देशकले सूचना चुहाएको अभियोग लगाए पश्चात आफ्ना चिफ अफ स्टाफ राइन्स प्रिबसको ठाउँमा जेनरल जन केलीलाई नियुक्त गरेका छन्।

एन्थोनी स्कारामुचीले प्रिबसलाई मानसिक रोगी भनेका थिए। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत ह्वाइट हाउसका आफ्ना प्रमुख सहयोगी परिवर्तन गरेको जानकारी दिएका थिए।

उनले हाल अमेरिकी आन्तरिक सुरक्षा मन्त्रालयका निर्देशक अवकाशप्राप्त जेनरल जन केलीलाई नयाँ चिफ अफ स्टाफमा नियुक्त गरेको बताएका छन्। चिफ अफ स्टाफको जिम्मेवारी सम्हालेको ६ महिनापछि प्रिबस उक्त पदबाट हटेका हुन्।

राष्ट्रपति ट्रम्पका नयाँ सञ्चार निर्देशकले ह्वाइट हाउसभित्रबाट चुहिएका सूचनाहरुको सम्भावित श्रोतका रुपमा उनको नाम लिएका थिए।

त्यसपछि अप्ठेरोमा परेका प्रिबसले बिहीबार पदबाट राजीनामा दिएको अमेरिकी सञ्चार गृहहरुले उल्लेख गरेका छन्।(अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट)