मन्त्रिपरिषद् विस्तारमा भद्रगोल शैली

काठमाडौं । कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ बुधबार मन्त्री पदको शपथका लागि राष्ट्रपति भवन जान आफ्नो निवासमा हतार-हतार दौरा-सुरुवाल लगाउँदै थिए ।

त्यहीबेला उनको मोबाइलको घन्टी बज्यो । श्रेष्ठले फोन उठाएका मात्र थिए, उताबाट खबर आयो, ‘यसपटक सकिएन, तपाईंलाई अर्कोपटक ।’ प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिवले फोनमा ‘अर्कोपटक मात्र’ भनेपछि उनी ‘छाँगाबाट खसेझैं’ भए ।

प्रधानमन्त्री देउवाले बुधबार दिउँसो साढे २ बजे शपथग्रहणका लागि दौरा-सुरुवाल लगाउन पठाएका उनी आफ्नो नाम मन्त्रीको सूचीबाट एकाएक हटेपछि तीनछक परे । त्यति मात्र होइन, उनी चौथोपटक मुलुकको बागडोर सम्हालेका देउवाको ‘भद्रगोल शैली’बाट पनि चकित भए।

देउवाले उनलाई मात्र नभई शपथको तयारी गर्न भनेका अन्य सांसदलाई पनि मन्त्री बन्ने सूचीबाट हटाइएको भन्दै सचिवालयबाट जानकारी गराउन लगाएका थिए ।

त्यसपछि ‘पञ्चायतकालको यातनाभन्दा चरम दण्ड पाएको’ गुनासो देउवाको कार्यशैलीबाट रुष्ट सांसदले गर्न थालेका छन् । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।