भेनेजुएलाका राष्ट्रपति मडुरोको दावी: अमेरिकी कदम गैरकानुनी

चुनाव स्थगित गर्न आग्रह

अमेरिका । अमेरिकाले भेनेजुएलाका १३ जना नेता तथा सैनिक अधिकारीमाथि प्रजातन्त्रलाई समर्थन नगरेको भन्दै प्रतिबन्ध लगाइदिएलगत्तै भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले अमेरिकी कदम गैरकानुनी भन्दै त्यसलाई अस्वीकृत गरेका छन्।

भेनेजुएलाका विपक्षी दलले आइतबारको मतदानको विरोधमा थालेको ४८ घण्टा लामो आमहड्ताल शुरु भएलगत्तै अमेरिकाले प्रतिबन्धको घोषणा गरेको हो।

उनले अमेरिकी कदम गैरकानुनी, अभद्र र अप्रत्याशितू भएको प्रतिक्रिया दिए। अमेरिकाले मडुरोलाई आइतबारका लागि तय गरिएको विवादास्पद संविधान सभाको चुनाव स्थगित गर्न आग्रह गरेको छ।

अमेरिकाले भेनेजुएलाको सेनाका प्रमुख, राष्ट्रिय प्रहरीका निर्देशक, राष्ट्रिय निर्वाचन परिषदका प्रमुख र एक भुतपूर्व उपराष्ट्रपतिविरुद्ध प्रतिबन्ध लगाएको हो।

राजधानी कराकस लगाएत अन्य शहरका सडकहरुमा अवरोध गरिएको छ। पश्चिमी नगर मेरिदामा प्रहरी र प्रदर्शनकारीबीचको उक्त झडपमा एक पुरुषको ज्यान गएको छ। कराकसमा भएको झडपमा तीन जना घाइते भएका छन्।(अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट)