भड्कियो राप्रपा , वार्ता समिति भंग, संशोधनको विपक्षमा उभिने संकेत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार विस्तारमा पार्टीलाई नसमेटेको भन्दै मन्त्रिपरिषद्मा सहभागी हुन बनाएको वार्ता समिति भंग गरेको घोषणा गरेको छ ।

प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा मतदान गरेको राप्रपाले सरकारमा सहभागी हुने विषयमा सकारात्मक रहेको भन्दै केही समयअघि महामन्त्री जयन्त चन्दको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति बनाएको थियो ।

वार्ता समितिका संयोजक चन्दले सरकार विस्तार भइसकेकाले वार्ता समितिको औचित्य नरहेकाले भंग भएको बताए । बुधबार भएको सरकार विस्तारमा पार्टीका तर्फबाट प्रतिनिधित्व नगराइएपछि उसले सरकारमा सहभागी हुनुको औचित्य सकिएको भन्दै वार्ता समिति भंग गरेको हो ।

वार्ता समिति भंग, संशोधनको विपक्षमा उभिने संकेत

राप्रपाका मुख्य सचिव विशेश्वर शर्मा सुवेदीले विज्ञप्तिमार्फत तीन सदस्यीय वार्ता समिति भंग गरिएको जनाएका छन् ।

वार्ता समिति भंगसँगै राप्रपाले संविधान संशोधनका पक्षमा मतदान गर्ने यसअघिको कार्य सम्पादन समितिको निर्णयमा समेत पुनर्विचार हुुन सक्ने संकेत गरेको छ ।

महामन्त्री चन्दका अनुसार केन्द्रीय समिति बैठकले संविधान संशोधन र सरकारमा सहभागी हुने विषयमा निर्णय गर्ने जिम्मा कार्यसम्पादन समितिलाई दिइसकेको छ । परिवर्तित परिस्थितिमा अब बस्ने कार्यसम्पादन समितिले संशोधनको विपक्षमा निर्णय गर्न सक्ने राप्रपा नेताहरू बताउँछन् ।

अध्यक्ष कमल थापाकै नेतृत्वमा पाँच मन्त्रालय सम्हाल्ने गरी सरकार सहभागी हुने तयारी गरिरहेको राप्रपाले प्रधानमन्त्रीले वास्ता नगरेको भन्दो वार्ता भंग गरी तत्कालका लागि सरकारसँग सम्बन्ध विच्छेद गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।