आगामी हिउँदमा मुलुकमा लोडसेडिङ हुने सम्भावना बढ्यो

एलइडी बल्ब खरिद रोकियो

काठमाडौं । आगामी हिउँदमा मुलुकमा लोडसेडिङ हुने सम्भावना बढेको छ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङको सम्भावना बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

बिजुलीको किफायती प्रयोगका लागि कार्यान्वयनमा ल्याउन लागिएको ऊर्जा दक्षता कार्यक्रम, २५ मेगावाटको ग्रिड सोलार कार्यक्रम रोकिएका छन् ।

भारतबाट थप बिजुली आयातका लागि आवश्यक ढल्केबर सबस्टेसनको कामसमेत रोकिएको छ । यसले गर्दा हिउँदमा लोडसेडिङ हुने सम्भावना देखिएको हो ।

‘वार्षिक रूपमा बिजुलीको माग करिब दुई सय मेगावाट बढिरहेको छ, तर त्यस अनुपातमा विद्युत् उत्पादन बढेको छैन,’ घिसिङले भने–‘अहिलेकै जस्तो अवस्था रहने हो भने यस वर्षको हिउँदमा लोडसेडिङ गर्नुपर्ने अवस्था छ ।’

प्राधिकरणले यस वर्ष बिजुलीको माग एक हजार सात सय ४२ मेगावाट पुग्ने प्रक्षेपण गरेको छ । तर, बिजुलीको आपूर्ति भने अहिलेको संरचनाबाट भारतबाट आयातसहित १ हजार मेगावाटको हाराहारीमा मात्रै हुने अनुमान गरिएको छ । अर्थात् झन्डै सात सय मेगावाटको लोडसेडिङ गर्नुपर्ने अवस्था छ। यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।

लोडसेडिङ फर्काउने मुख्य चार कारण
१. यो वर्ष ठूला आयोजना आउँदैनन्
२. एलइडी बल्ब खरिद रोकियो
३. ढल्केबर सबस्टेसनको काम अलपत्र
४. २५ मेगावाटको सोलार प्लान्ट पनि रोकियो