प्रत्यक्ष निर्वाचित कार्यकारीका लागि आन्दोलन गर्न पनि तयार छौँः अध्यक्ष प्रचण्ड(भिडियोसहित)

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न सडक आन्दोलन गर्न पनि तयार रहेको बताएका छन् ।

‘कार्यकारीको पक्षमा जाँदा माओवादीले जित्ने स्थिति छैन, तर देशको आर्थिक समृद्धिका लागि कार्यकारी प्रमुखको पक्षमा जानुपर्ने बाध्यता देखियो,’ माओवादीको ६ दिनसम्म चलेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

आफ्नो लोकप्रियता घटेकाले कांग्रेस–एमालेले कार्यकारी प्रमुखको प्रस्ताव मान्न सक्ने प्रचण्डको विश्लेषण छ । ‘पहिला प्रचण्डले जितिहाल्छ भनेर प्रत्येक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा कांग्रेस–एमाले जान चाहेनन् ।’

उनले भने–‘अहिले माओवादी कमजोर भएको छ । मेरो पनि लोकप्रियता घटेको छ । कांग्रेस–एमालेले जित्ने भएकाले मान्छन् कि ।’

७० वर्षको इतिहासमा कुनै पनि सरकार पाँच वर्ष नटिकेको प्रचण्डले बताए । ‘प्रजातन्त्र आएपछि पाँच वर्षसम्म सरकार टिक्न सकेनन् ।

पञ्चायकालमा राजा, महाराजाले नियुक्त गर्ने प्रधानमन्त्री पनि पाँच वर्ष टिक्न सकेनन्’ उनले भने, ‘बहुदल आएपछि त कुनै पनि सरकार २ वर्ष पनि टिक्न सकेन् ।

दोस्रो जनआन्दोलनपछिको १० वर्षमा १० सरकार परिवर्तन भए ।’ अहिलेको अवस्थामा सरकार ६÷६ महिनामा परिवर्तन हुने देखिएको उनले बताए । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।

LOADING...