दुई हजार थान लागुऔषध सहित दुई पक्राउ

लागुऔषध प्रयोगकर्ताहरु तिब्र रुपमा बढ्दै

काठमाडौँ । प्रहरीले दुई हजार ३६७ थान लागुऔषध एम्पुलसहित दुई जनालाई आज पक्राउ गरेको छ ।

नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको विशेष टोलीले काठमाडौं, बूढानीलकण्ठ नगरपालिका– ७ बाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नं १ का दिनेश थापा र तेह्रथुम आठराई नगरपालिका–४ घर भई नयाँ बजार बस्ने पदम आले मगर रहेको लागुऔषध ब्युरोका प्रमुख धिरु बस्नेतले जानकारी दिएका हुन ।

निजहरुका साथबाट रु ४७ हजार नेपाली र एक हजार ९२० भारतीय रुपैयाँ पनि बरामद गरिएको छ । मुलुकमा हाल लागुऔषध प्रयोगकर्ताको संख्या करिब एक लाख रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ, पोखरा, बुटवल, धरानलगायत सहरमा लागुऔषध दुव्र्यसनीको संख्या अरु शहरको तुलनामा बढिरहेको जनाइएको छ ।

लागुऔषध प्रयोगकर्ता खास गरी १४ देखि २५ वर्ष उमेर समूहका भएको पाइएको छ । पछिल्लो छ वर्षमा लागुऔषध दुव्र्यसनीको संख्या दोब्बर पुगेको तथा सात प्रतिशत महिला रहेको जनाइएको छ ।

पछिल्लो समय विद्यार्थीका अतिरिक्त यातायात मजदूरले पनि यसको प्रयोग गरेको पाइएको ब्युरोले जनाएको छ । लागुऔषधका दुव्र्यसनीले हाल ससाना समूहमा यसको प्रयोग र व्यवसाय गर्दै आएको तथ्यांक प्रहरीले फेला पारेको छ ।

एक पटक दुव्र्यसनमा परिसकेका व्यक्तिलाई लागुऔषधको व्यवसायमा पुनःसंलग्न हुन यसको ओसारपसारमा संलग्न गिरोहले प्रोत्साहन गर्ने गरेको प्रहरीको ठम्याइ छ ।

अवैध हातहतियारको व्यापारपछि दोस्रो ठूलो व्यवसायका रुपमा गिरोहले लागुऔषध ओसारपसारलाई चलाउँदै आएको छ । हातहतियारको अवैध ओसारपसार र लागुऔषधको व्यवसाय अन्तर्राष्ट्रिय समस्याका रुपमा रहँदै आएको छ । रासस