माओवादी केन्द्रको बैठक सकियोः २ बजे पत्रकार सम्मेलन

बैठकले गरेका निर्णय सार्बजनिक गरिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको करिब एक हप्तादेखि जारी सचिवालय बैठक हिजो सम्पन्न भएको छ । उक्त बैठकमा भएका निर्णयहरु सार्वजनिक गर्न आज विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । पत्रकार सम्मेलनलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा दिउँसो २ बजे विशेष पत्रकार सम्मेलन हुने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइकी हुन ।

शनिबारको बैठकमा पार्टी सचिवालय सदस्यहरुले निर्वाचनको समीक्षा, पार्टी पूनर्निर्माण र आगामी योजनाबारे आफ्नो रिपोर्ट र धारणा राखेका थिए ।

माओवादी सचिवालयको बैठकले केन्द्रीय महाधिवेशन आयोजक समिति ९९ भन्दा माथि नलैजानेगरी निर्णय गरेको छ । माओवादीले साउन २० देखि २२ गतेसम्म पार्टीका तर्फबाट निर्वाचित प्रतिनीधिहरुको भेला गर्ने निर्णय गरेको छ ।

उक्त बैठकमा नेता रामबहादुर थापा बादलले आफ्नो धारणा राखेका थिए भने नेताहरुले उठाएका जिज्ञासा, समीक्षा र आगामी योजना लगायतका विषयमा बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो धारणा राख्दै बैठक समापन गरेका थिए ।