सुरक्षा सवालमा नागरिक र प्रहरीबीचको हातेमालो आवश्यक हुन्छः महानिरीक्षक अर्याल

विकास तथा आर्थिक उन्नति गर्न सुरक्षा पहिलो प्राथमिकता हुने दावी

काठमाडौं । शनिबार प्रहरी महानिरीक्षक प्रकाश अर्यालले बिकास र परिवर्तनसँगै समाजमा देखा पर्ने जटिलता अपराध तथा नकारात्मक पक्षहरुलाई निर्मूल पार्ने कार्यमा नागरिक र प्रहरीबीचको हातेमालो आवश्यक रहने बताएका छन ।

नेपाल पुलिस क्लव भृकुटीमण्डपमा आयोजित एक समारोहबीच अपराध न्यूनिकरणको लागि स्थानीय तह, सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवाको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक अर्यालले त्यस्तो बताएका हुन ।

प्रहरी महानिरीक्षक अर्यालले शान्ति सुरक्षाको बहाल, दण्डहिनताको अन्त्य तथा मानवअधिकारको रक्षाको लागि नेपाल प्रहरीलाई नागरिक समाज, राजनीतिक दलहरु र समुदायको सहयोग, विश्वास र सहकार्यको आवश्यकता पर्ने उल्लेख गरेका छन ।

प्रहरी महानिरीक्षक अर्यालले विकास तथा आर्थिक उन्नतिलाई आफ्नो एजेण्डाको रुपमा जनताको सामु लैजाँदा सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताए ।

उनले सुरक्षा सवालमा नागरिक र प्रहरीबीचको हातेमालो वा साझा दृष्टीकोणको विकल्प नभएकाले समुदायबाट रचनात्मक सहयोग, समन्वय र सद्भाव भएमा मात्र नेपाल प्रहरीले आफ्नो जिम्मेवारी त्रुटीरहित ढंगबाट पूरा गर्न सक्ने बताए ।

उक्त कार्यक्रममा सामुदायिक सेवा उपत्यका समन्वय परिषदका संयोजक सुरेन्द्र बोगटीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रहरी नायब महानिरीक्षकहरु, बरिष्ठ प्रहरी अधिकृतहरु, नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु, काठमाडौं महानगरपालिकाका वडा अध्यक्षहरु, सामुदायिक सेवा केन्द्रका अध्यक्ष लगायत अन्य पदाधिकारीहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका इन्चार्ज लगायत जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।