अंक नै केरमेट गरी कर मिनाहा

काठमाडौं । कर फर्छ्योट आयोगका पदाधिकारीले राजस्व रकम, दर्ता नम्बर एवं दर्ता र पत्राचार मितिसमेत फेरेर बदनियतपूर्वक कर मिनाहा गरेको खुलासा भएको छ ।

आयोगमा व्यवसायीको निवेदन दर्ता र कर फर्छ्योटपछि पत्राचारका क्रममा तथ्यांक नै केरमेट गरिएको र सर्वसम्मत निर्णयसमेत सच्याएको भेटिएको हो ।

आयोगको रजिस्ट्ररमा दर्ता र चलानीको अभिलेख केरमेट र फेरबदल गरी निर्णय गरिएको मात्र होइन, केही फाइलमा सर्वसम्मत निर्णय भइसकेको विषयलाई आयोगका सदस्य सचिव रहेका चूडामणि शर्माले केरमेट गरेर सच्याई हस्ताक्षर गरेको समेत देखिन्छ ।

यस्तै, दर्जनौं ठाउँमा पत्राचारका चलानी नम्बर ‘ब्याक डेट’ मा केरमेट गरिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका क्रममा समेत यस्ता तथ्य भेटिएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।