भूकम्पमा मृत्यु भएका स्वास्थ्य कर्मचारीका परिवारलाई आर्थिक सहयोग

राहत वितरण कार्य जारी

काठमाडौँ । दुई वर्षअघिको भूकम्पमा परी मृत्यु भएका स्वास्थ्य मन्त्रालय अन्तर्गतका ११ जना स्वास्थ्यकर्मीका परिवारले रु २३ लाख सहयोग रकम पाएका छन् ।

बीस जना कर्मचारीका लागि सरकारले आव २०७३/७४ मा स्वास्थ्य मन्त्रालयमा रु ३२ लाख बजेट छुट्ट्याइएको थियो ।

अन्य नौ जनाको विभिन्न प्रक्रिया नपुग्दा रकम वितरण गर्न नसक्दा रु नौ लाख ‘फ्रिज’ भएको मन्त्रालयका लेखा अधिकृत प्रह्लाद सापकोटाले जानकारी दिएका हुन् ।

गत वर्षको चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा परी मृत्यु भएका स्वास्थ्य मन्त्रालय अन्तर्गतका स्थायी कर्मचारीका परिवारलाई रु तीन लाख र अस्थायी कर्मचारीका परिवारलाई रु एक लाखका दरले सहयोग गर्ने निर्णय गरेको थियो । 

रकम लिन छुटेकाहरुका लागि पुनः बजेट माग गरी प्रक्रिया सुरु गर्ने मन्त्रालयको भनाइ छ ।मन्त्रालयका अनुसार छ जना स्थायी र पाँच जना अस्थायी कर्मचारीका परिवारले सहयोग रकम लिएका छन् ।

रकम लिन बाँकी रहेका रहेका नौ जना पनि अस्थायी कर्मचारी हुन् । जसमा महिला स्वास्थ्य करारमा काम गर्ने कर्मचारी र स्वयम्सेविका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा र काठमाडौँका कर्मचारी रहेका छन् । रासस