वर्षाले रोल्पाका सडक अस्तव्यस्त

रोल्पा । कतै पहिरो र कतै हिलाम्मे भएर सडक बिग्रिएपछि ग्रामीण भेगमा चल्ने यातायातका साधन अवरुद्ध भएका छन् । सदरमुकाम लिबाङबाट पश्चिमको घर्तीगाउँ, दुईखोली, थबाङ, तालाबाङलगायतका स्थान जाने यातायातका साधन एक महिनादेखि अवरुद्ध छन् ।

त्यस्तै पूर्वी रोल्पाको सुलिचौरबाट जेल्बाङ, पोबाङ, स्युरी, फगामलगायतका ठाउँमा चल्ने साना यातायातका साधनसमेत चल्न सकेका छैनन् ।

कतिपय ठाउँमा ठूला पहिरो गएकाले यातायातका साधन चल्न नसकेको जलजला यातायात व्यवसायी समिति रोल्पाका कार्यालय सचिव धर्मेन्द्र कुँवरले बताएका हुन ।

जोखिमका बीच नजिकका ठाउँमा सवारी चले पनि धेरै ठाउँका सडक पूर्ण रूपमा भत्किएको जलजला यातायात प्रालिका अध्यक्ष नन्दबहादुर पुनले बताए । यो वर्षाभरि यातायात सञ्चालन हुने सम्भावना न्यून रहेको उनको भनाइ छ ।

दाङको घोराही हुँदै रोल्पाको होलेरी थबाङ पुग्ने सहिदमार्ग पनि अवरुद्ध भएको छ । घर्तीगाउँ र दुईखोलीसम्म फाट्टफुट्ट सवारी सञ्चालन भए पनि पहिरो समस्या गरेको जलजला यातायात समिति रोल्पाका अध्यक्ष तेजविक्रम रावतले बताए ।

आफूहरूले सहिदमार्ग मर्मतका लागि सडक डिभिजन कार्यालयमा जानकारी गराए पनि धेरै ठाउँमा भत्किने समस्याले मर्मत प्रभावकारी नभएको अध्यक्ष रावतले बताए ।

मौसम सुधार भइरहेकाले केही दिनमा यातायात सुचारु हुनेमा आफूहरू आशावादी रहेको उनको भनाइ छ ।

सहिदमार्ग सडक आयोजना रोल्पाले वर्षाको समयमा हुने सडक अवरुद्धलाई रोक्न चौबीसै घन्टा दुइखोली क्षेत्रमा स्काभेटर तयारी अवस्था राखिएको बताएको छ ।

‘अवरुद्ध भइहाले पनि थोरै समयका लागि हुन्छ,’ सडक आयोजना रोल्पाका कार्यालय प्रमुख सुबोध देवकोटाले भने, ‘तर, धेरै दिनका लागि भने अवरुद्ध नहुने गरी मेसिनको व्यवस्था गरेका छौँ ।’ डबल कटिङ भर्खरै मात्र भइरहेकाले पनि यस प्रकारको समस्या भोग्नुपरेको देवकोटाले बताए ।

सदरमुकाम लिबाङबाट ग्रामीण भेगमा चल्ने यातायातका साधनहरू आधाबाटोसम्म मात्र चलिरहेका छन् ।

ग्रामीण भेगमा चल्ने अधिकांश सडक निर्माणाधीन छन् । हरेक आर्थिक वर्षमा क्रमागत बजेट विनियोजन गरी सडक सुधार भइरहेको छ ।

थोरै र साना सवारीसाधन मात्र सञ्चालन भइरहेका सडकमा कमजोर सडकका कारण जोखिम धेरै छ । यात्रुको चापसमेत धेरै रहेको यातायात व्यवसायी बताउँछन् । या समाचार आजको नयाँ पत्रिकामा  प्रकाशित छ ।