भेनेजुयलाको अवस्था बिग्रन सक्ने अमेरिकाको चेतावनी

प्रहरी र प्रदर्शनकारीबीच झडप

अमेरिका । अमेरिकी देशहरुको समूह ओएएसका प्रमुखले भेनेजुयलाको परिस्थिति असाध्यै बिग्रन सक्ने चेतावनी दिएका छन्।

भेनेजुयलामा आह्वान गरिएको आम हडतालमा लाखौं सहभागी भएका छन्। प्रहरी र प्रदर्शनकारीबीच राजधानी कराकसका विभिन्न भागमा झडप भएको छ। देशभर गरी कम्तीमा दुईजना मारिएका छन्।

प्रदर्शनकारीले विभिन्न उपाय अपनाएर सडक अवरोध खडा गरेका छन् । एप्रिल यता मात्रै विपक्षी प्रर्दशनमा एक सय जनाजति मारिएका छन्।

एउटा अधिकारवादी संस्थाले सुरक्षा फौज र विपक्षीबीच झडप भएको र कम्तीमा ८० जना गिरफ्तार भएको जनाएको छ।
कराकसको बाहिरी भागमा एकजना २४ वर्षीय युवक मारिएको र उत्तरी शहर भ्यालेन्सियामा एकजना २३ वर्षीय युवक मारिएको एफपपी समाचारमा जनाएको छ।

विपक्षीहरुले फोहोरको थुप्रो र फर्निचरहरु लगायतले सडकहरुमा अवरोध खडा गरेका छन्। विपक्षी वेवसाइटहरुले कराकसका सुनसान सडकका तस्वीर सार्वजनिक गरेका छन् तर सरकार समर्थकहरुले हडतालमा नजाने जनाउन आफू काममा रहेका तस्वीरहरु ट्वीट गरेका छन्। (अन्तराष्ट्रिय सञ्चारमाध्मबाट)