छाउपडीविरुद्ध कानुन बनाउन आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कुरीतिविरुद्ध प्रभावकारी कानुन निर्माण तथा कार्यान्यन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोग सदस्य एवं प्रवक्ता मोहना अन्सारीले कुरीतिको नाममा मानवअधिकार उल्लंघन हुने गरिएको बताउँदै प्रभावकारी कानुन निर्माणका साथै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी हुन् ।

महिनावारी भएको तथा सुत्केरी अवस्थामा महिलाप्रति छुवाछुतको व्यवहार गरिने, घरभन्दा टाढा छाउगोठमा जोखिमयुक्त अवस्थामा राखिने तथा पोषणयुक्त खानेकुरा खान नदिइने परम्परा र संस्कारका कारण महिला समानताको अधिकारबाट समेत वञ्चित हुनुपरेको आयोगले जनाएको छ ।

नेपालको संविधान, नेपाल पक्ष राष्ट्र बनेका, महिलाविरुद्ध हुने सबै प्रकारका भेद्भाव अन्त्य गर्ने महासन्धि १९७९, नागरिक तथा राजनीतिक अधिकार १९६६ लगायतमा उल्लेख गरिएका अधिकारको सम्मान र संरक्षण गर्नु राज्यको दायित्व हुन आउने जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।