गृहमन्त्रीको निर्देशनमा बम फाल्ने हवल्दार असईमा बढुवा

काठमाडौं । स्थानीय तहको निर्वाचनका क्रममा मतदान केन्द्रमा फालिएको बम समातेर फ्याँक्ने हवल्दार असईमा बढुवा भएका छन् ।

गृह मन्त्रालयको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले बिहीबार प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई प्रहरी सहायक निरीक्षक ९असई० मा बढुवा गरेको हो ।

हवल्दार रानालाई २० दिनमै असईमा बढुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । राना हालै मात्र प्रहरी सहायक निरीक्षकमा बढुवा भएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए । उनका अनुसार उत्कृष्ट कार्य गरेबापत गृहमन्त्री जनार्दन शर्माको निर्देशनअनुसार रानाको बढुवा भएको हो ।

१४ असारमा सम्पन्न दोस्रो चरणको निर्वाचनको मतदानका दिन दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित आधारभूत विद्यालय प्रतापकोटअन्तर्गतको अम्बास मतदान केन्द्रमा अज्ञात समूहले बम फालेको थियो ।

प्रहरी हवल्दार रानाले त्यसलाई तत्काल सुरक्षित स्थानमा फालेर त्यहाँ हुने सम्भावित जनधनको क्षति हुनबाट आमजनतालाई जोगाएका थिए ।

जनताको जिउधनको रक्षा गरेको भन्दै त्यसलगत्तै गृहमन्त्री शर्माले रानाको साहसको प्रशंसा गर्दै उचित सम्मान गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रहरीको काम गर्ने मनोबल बढाउन तत्कालै हवल्दारलाई असईमा बढुवा गरिएको गृह मन्त्रालय सचिवालयका कृष्ण केसीले बताए । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।