राप्रपाका अधिकांश सदस्यद्वारा अध्यक्ष थापाको आलोचना

काठमाडौं । राप्रपा एकता महाधिवेशनपछिको दोस्रो केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरूले अध्यक्ष कमल थापाले आलोचना गरेका छन् ।

नयाँ वानेश्वरस्थित एक पार्टी प्यालेसमा बुधबारबाट सुरु भएको बैठकमा सदस्यहरूले पार्टीमा एकता कायम राख्न नसकेको, अपरिपक्व निर्णयका कारण निर्वाचनमा पराजित हुनुपरेको, विधानविपरीत केन्द्रीय सदस्य मनोनित गरेको जस्ता विषय उठाउँदै अध्यक्षको आलोचना गरेका हुन् ।

वरिष्ठ नेता पशुपतिशमशेर राणालाई बैठकमा सहभागी हुने वातावरण नबनाएको भन्दै सदस्य जगत गौचनले पार्टीमा सबै अटाउने वातावरण बनाउन अध्यक्षको ध्यानाकर्षण गराए ।उनले भने–‘राणा बैठकमा अनुपस्थित हुँदा नकारात्मक सन्देश प्रवाह भएको छ, पार्टीमा सबै अट्ने वातावरण बनाउनुपर्छ ।’

सदस्य बिन्दु पहाडीले पनि राणालाई पनि बैठकमा सहभागी हुने वातावरण बनाउन आग्रह गरिन् । सदस्यहरू तोरण गुरुङ, नरेन्द्रबहादुर चन्द, साहिर अली, मीना सुवेदी, बिन्दा गिरीलगायतले पार्टी बचाउन सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।

सदस्य लालकुमार लामाले भित्र जे जस्तो भए पनि बाहिरको माहोल अर्कै रहेको भन्दै विभाजनको संकेत गरे । बैठकमा धारणा राख्ने २० जना सदस्यमध्ये अधिकांशले अध्यक्ष थापाको आलोचना गर्नमै समय खर्चिएका थिए । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।