किन बढ्दै छन् विदेश जाने विद्यार्थी ?

एकै वर्षमा ५० हजार विद्यार्थी विदेशतिर

काठमाडौं । एक वर्षमा ५० हजारभन्दा बढी नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिएका छन् ।

अध्ययनका लागि भिसा आवेदन गर्दा आर्थिक वर्ष ०७३/७४ मा मात्र डेढ अर्बभन्दा बढी रकम बिदेसिएको छ । गत वर्ष ३२ हजार चार सय ८९ विद्यार्थीले आवेदन दिएकोमा यस वर्ष त्योभन्दा १८ हजार एक सय ७० जना बढी विद्यार्थीले यस्तो पत्र लिएका छन् ।

कुन महिनामा कति ? ०७३ साउनमा २९८६, भदौमा ४४१७, असोजमा २६६८, कात्तिकमा २२३७, मंसिरमा ४४२९, पुसमा ३८७५, माघमा ३४९६, फागुनमा ६९९५, चैतमा ४७११ र ०७४ वैशाखमा ३५६६, जेठमा ६७७६, असारमा ४४१३ जनाले ‘नो अब्जेक्सन लेटर’ लगेका छन् ।

किन बढ्दै छन् विदेश जाने विद्यार्थी ?
नेपाली विद्यार्थीको विदेश मोहबारे शिक्षा मन्त्रालयले कुनै अध्ययन गरेको छैन । सो विषयमा अनौपचारिक विश्लेषण मात्र हुने गरेको छ । शिक्षा मन्त्रालयका नो अब्जेक्सन लेटर शाखा प्रमुख डिल्लीश्वर प्रधानले पछिल्लो समय विदेश अध्ययनमा जान चाहनेको संख्या धेरै बढे पनि कारणबारे औपचारिक अध्ययन नभएको बताए ।

उनका अनुसार विदेश अध्ययनमा आकर्षण बढ्नुका ३ कारणः–

-विदेशी डिग्री लिएमा अन्तर्राष्ट्रिय श्रमबजारमा पनि बिक्ने अपेक्षा,

-विदेशमा पढ्दै आफ्नो खर्च जुटाउन र बचाउन पनि सकिने अवस्था,

-छिमेकी र नातेदारका छोराछोरी विदेशमा पढ्न जाँदा पर्न मनोवैज्ञानिक दबाबले आफ्ना छोराछोरी पनि पठाउने प्रवृत्ति, यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।