रुसी र अमेरिकी अधिकारीहरुबीच भेट वार्ता

भवन फिर्ता गर्न मस्कोको चेतावनी

अमेरिका । ओबामा प्रशासनले बन्द गराएका दुई वटा विवादीत रुसी परिसरका बारेमा वरिष्ठ रुसी र अमेरिकी अधिकारीहरुबीच वासिङटनमा वार्ता भएको छ।

ती भवनहरु आफूलाई फिर्ता नगरिए आफ्नो तर्फबाट पनि कडा प्रतिक्रिया दिने मस्कोले चेतावनी दिदैँ आएको थियो।
क्रेमलिनले उक्त परिसर फिर्ताको माग आफ्नो उच्च प्राथमिकतामा रहेको बताउने गरेको छ।

तर अहिलेसम्म उसले राष्ट्रपति ट्रम्पले आफ्ना पूर्ववर्ती बराक ओबामाको निर्णय उल्टाउँछन कि भनेर पर्खिरहेको थियो।

रुसी अधिकारीहरुले हालै आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको भेटवार्तालाई स्वागत गरेका थिए।

तर अमेरिकामा राजनीतिक वातावरण थप बिग्रिएको छ र रुसले राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको र ट्रम्पको चुनावी अभियान र मस्कोबीच साँठगाँठ रहेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

यस्तोमा मस्कोलाई कुनै पनि किसिमको छुट दिदाँ त्यसले थप विवाद निम्त्याउन सक्छ। अहिले रुसी अधिकारीहरुले आफ्नो सम्पत्ति फिर्ता नपाए केही अमेरिकी कूटनीतिज्ञलाई देशनिकाला गर्ने चेतावनी दिइरहेका छन् जसले दुई देशबीचको तनावपूर्ण सम्बन्धलाई थप जटिल बनाउनसक्ने देखिन्छ।(अन्तराष्ट्रिय सञ्चारमाध्मबाट)