देउता खुसी पार्न छाउगोठ: मरे पनि मरिन्छ, छाउ त बार्न पर्छ

दैलेख । अन्तिम असारको झरी बिहानपख केही सुस्ताएको थियो । हिलाम्मे आँगनमाथि एउटा पुरानो त्रिपाल झुन्डिइरहेको थियो । सुनसान घर । कोही कसैसँग बोल्दैनन् । आँगनमा केही नयाँ मान्छे देखेपछि देर्जुकुमारी शाहीले मुन्टो तन्काउन खोजीन । दुई महिलाले समातेर उनलाई कौसीसम्म ल्याए ।

कपाल मुन्डन गरेका छोरा प्रेमबहादुरले छाउगोठमा सर्पले डसेर मृत्यु भएकी बहिनीको घटना सुनाइरहँदा देर्जुकुमारी मुख छोपेर सुँक्सुकाइरइन । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६, लैनचौरकी २३ वर्षीया तुल्सी शाहीको नौ दिनअघि छाउगोठमै सर्पले टोकेर मृत्यु भएयता देर्जुका आँखा ओभाएका छैनन् ।

जेठ ८ गते यही गाउँकी अर्की किशोरीको पनि छाउगोठमै मृत्यु भएको थियो । १४ वर्षीया लालसरा विकले छाउगोठमै सर्पले टोक्दा जीवन त्याग्नुपरेको थियो । तर, यो कुरा बाहिर आएन । तालिमको सिलसिलामा त्यहाँ पुगेका महिला विकास कार्यालयका कर्मचारीले थाहा पाएपछि मुस्किलले लालसराको मृत्युको घटना बाहिर आयो । लालसराको समाचार बन्न नपाउँदै तुल्सीको पनि त्यसैगरी छाउगोठमै ज्यान गयो ।

रोपाइँको मेलो सकेर फर्किरहेका महिलालाई शिक्षक भुवन शाही जिस्क्याउँदै हुनुहुन्थ्यो, ुपाखा सर्‍या हौला, नछुए है । अनि बर्सादी ९पानी छेक्ने प्लास्टिक० ओढेकी कोकिला विकले भनीन–‘छुन्नम छुन्नम्, तीन दिन त भो, गोठमै सुतिराछम् ।’ फेरि शिक्षक शाहीले सम्झाए पशुसँग सुतेर नि देउता खुसी हुन्छन् । अस्ति तुल्सीलाई साँपले टोकेर मरेको बिस्र्यौ ।

अर्की महिला जंगिइन–‘त्यस्तो भनेर हुन्छ, मरे नि मरिन्छ तर देउतालाई रिसाउन दिनुहुन्न ।’ अनि उनी आफैँले कहानी सुनाइन–‘केही वर्षपहिला रजस्वला भएको बेला घरमा खाना बनाएँ तर खान दिने बेला मेरो मुन्टो बांगियो ।

अनि धामीझाँक्रीले झारफुक गरेर सोझ्याइदिए । घरमा कोही नभएपछि पाखा सरे पनि उनले बाहिरै खाना बनाएकी थिइन रे अनि देउता रिसाका रैछन्, छाउ हुँदा भान्सा छोएपछि मरे पनि मरिन्छ । यो त बार्ने नै हो, देउता रिसाउन हुन्न, विकले भनीन । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।