माओवादी केन्द्रको केन्द्रीय सचिवालयको बैठक ११ः०० बजे बस्दै

चुनावको नतिजा र भावी योजना बारे छलफल हुने

काठमाडौं । माओवादीको एजेण्डामा स्थानीय चुनाव भएता पनि पार्टी तेश्रो स्थानमा आउनुको कारण र राष्ट्रको पछिल्लो राजनीति अवस्थाका साथै प्रत्यक जिल्लामा पार्टीको अवस्था बारे समिक्षा गर्न आज नेकपा माओवादी केन्द्रले केन्द्रीय सचिवालयको बैठक एघार बजे पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा बोलाएको छ ।

उक्त बैठकमा पहिलो र दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टी तेश्रो स्थानमा आउनुको कारण र आगामी चुनावको तयारी बारे छलफल गर्न केन्द्रीय सचिवालयका सदस्यसहित प्रत्येक जिल्लाका इन्चार्ज वा अध्यक्षहरुको सहभागीता रहने भएको छ ।

सम्पुर्ण जिल्लाका इन्र्चाजहरुले आफ्नो जिल्लाको रिपोर्ट पार्टी नेतृत्वलाई अवगत गराउने र आगामी दिनमा हुने निर्वाचनको लागि के कस्तो तयारी आवश्यक छ भन्ने बारे छलफल गर्ने पार्टी निकट श्रोतले बताएको छ ।

आफ्नो पार्टीलाई जनताले किन पत्याएनन, के कस्ता कमि कमजोरीले पार्टीले यस्तो अवस्था खेप्नु परेको हो, अब कस्तो खालका कार्यक्रम ल्याउँदा समग्र पार्टीलाई फाइदा हुन्छ होला, इत्यादी विषयमा केन्द्रीत भएर छलफल गर्ने अभिप्रायले आजको बैठक बस्ने भएको पार्टी श्रोतले जनाएको छ ।