सरकारी बजेटमा नेता र हाकिमको मोजमस्ती

धादिङ । आर्थिक वर्ष २०७३ र ०७४ मा सञ्चालित कार्यक्रमको अनुगमन गर्ने बाहानामा धादिङ जिल्लाका सबै जसो सरकारी कार्यालयका प्रमुख चितवन पुगेका छन् ।

धादिङका तीनवटा सरकारी कार्यालय महिला तथा बालबालिका, जिल्ला कृषि विकास र पशुसेवा कार्यालय धादिङले यस आर्थिक वर्षमा सञ्चालन गरेका विभिन्न योजना तथा कार्यक्रमको संयुक्त अनुगन गरेपश्चात कार्यालय प्रमुख चितवन पुगेका हुन् ।

दुईदिने अनुगमन कार्यक्रमको क्रममा बुधबार सदरमुकाम धादिङबेसीबाट करिब १२ बजे निस्किएको अनुगमन टोली काठमाडौं सीमानाको धुनीबेसी नगपालिकामा सञ्चालित कार्यक्रमको अनुगमन गरेर बास बस्न चितवन पुगेको थियो ।

तीनवटा फरक(फरक कार्यालयको अनुगमन भए पनि तीनवटै कार्यालयको एउटै बजेट बनाएर संयुक्त अनुगमनपश्चात रात्रिभोजका लागि सहभागी चितवन पुगेका हुन् ।

आर्थिक वर्ष सकिनै लागेको र वर्षको अन्त्यमा पूर्वनिर्धारित कार्यक्रम गर्नै पर्ने भएकाले हतार(हतारमा तीनवटा कार्यालयको संयुक्त अनुगमन गरिएको ती कार्यालयले जनाएका छन् ।

फरक(फरक कार्यालयको फरक(फरक कार्यक्रम अनुगमन गर्नु पर्ने भए पनि महिला तथा बालबालिका कार्यालयको लैंगिक बालअधिकार मूलप्रवाहीकरण जिल्ला समन्वय समितिको संयुक्त अनुगमन, जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशुसेवा कार्यालय धादिङले वर्षभरि सञ्चालन गरेका योजनाको अनुगमन कार्यक्रम एकै समयमा गरिएको हो ।

अनुगमनमा जाने व्यक्ति एउटै हुने र फरक(फरक समयमा अनुगमन गर्न समय अभाव भएकाले तीनवटै कार्यालयको संयुक्त अनुगमन राखिएको सम्बन्धित कार्यालयले जनाएका छन् ।

हतार हतारमा गरिएको अनुगमनका कारण सबै सञ्चालित योजनाको अनुगमन गर्न नभ्याइएको अनुगमन टोलीमै सहभागी जिल्ला पशुसेवा कार्यालयका कार्यालय प्रमुख देवेन्द्र भगतले बताए ।

उनले भने–‘नलाङको गाई फार्म र केवलपुरको बाख्रा फार्म हेरियो, समय अभावले कार्यालयले सञ्चालन गरेका सबै योजना हेर्न भ्याइएन ।’

सरकारी अधिकृतले नै समय अभावका कारण सबै योजनाको अनुगमन गर्न नभ्याएको बताइरहँदा अनुगमन कार्यक्रम दुई दिनको भए पनि अनुगमन भने एक दिन मात्रै गरिएको थियो ।

अनुगमनका लागि काठमाडौं नजिक पुगेर पनि बास बस्न र रात्रिभोज गर्न भन्दै अनुगमनटोली चितवनको कुरिनटार पुगेर भोलिपल्ट (बिहीबारं) धादिङ फर्किएको थियो ।

प्राजयसो जिल्लाका मुख्य कार्यक्रममा कहिल्यै देखा नपर्ने कार्यालय प्रमुख पनि साँझको रात्रिभोजमा भने देखिएका थिए । रात्रिभोजमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत धादिङका सबैजसो सरकारी कार्यालयका प्रमुखहरू सहभागी थिए ।

अनुगमनमा सहभागीले पाउने भत्ताबाटै रात्रिभोजको आयोजना गरिएको कोष तथा लेखा नियन्त्रण कार्यालय धादिङका प्रमुख यज्ञ ढकालले बताएका छन ।

उनले भने–‘अनुगमनमा जानेलाई भत्ताको व्यवस्था गरिएको रहेछ, त्यही भत्ताको रकमबाट रात्रिभोज गरिएको हो । भोजमा छट्टै सरकारी कोषको रकम खर्च भएको छैन ।’

आर्थिक वर्षको अन्त्यमा सबै कार्यक्रम सकिएपश्चात सबै कार्यालय प्रमुखहरू एकै ठाउँमा बसेर भेटघाट गरौं भन्ने उद्देश्यले रात्रिभोज राखिएको ढकालले जानकारी दिएका छन । यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।