मध्यरातमा बाढीले खुसी खोस्यो

रामेछाप । लिखु गाउँपालिका वडा नम्बर ६, साँघुटारकी कृष्णा तामाङ श्रीमान् र छोरीलाई बाढीले बगाएपछि गहिरो पीडामा रहेकी छन ।

श्रीमान् र छोरीलाई सम्झँदै कृष्णा छिन छिनमै रुन्छन, छोराछोरीको लालनपालनको चिन्ता गरिरहेकी छन ।दिउँसो परिवारसँगै बिताएका कृष्णाका श्रीमान् अशोक भनिने विमान तामाङलाई शनिबार राति छोरीसँगै बाढीले बगाएर बेपत्ता बनाएको छ ।

विमानले पुरानो जस्ताले छाएको टहरामा पानी चुहिने भएपछि दिउँसो प्लास्टिक थप्नुभएको थियो । उहाँको परिवारले दुई लाख रुपैयाँमा एक रोपनी खेत बन्धकी कमाउँदै आएको छ । विमानले खेतबाट मकैसमेत भाँचेर ल्याउनुभएको थियो ।

साँझ खाना खाएपछि भने उनी छट्पटाइरहेका थिए । राति करिब ९ बजेदेखि नै पानी दर्किएको थियो । उनी भने आफूलाई धेरै गर्मी भएको भन्दै भित्र(बाहिर गर्दै गरिरहेका थिए । छिमेकीले सधैं पर्ने पानी हो, डराउनुपर्दैन अब सुत्दा हुन्छु भने पनि उनले मानेका थिएनन् ।

राति १ बजेतिर घरमाथि रहेको कुलोमा भेल बढेपछि घरभित्र पनि पस्यो । उनले श्रीमतीलाई कुलो ठूलो आएजस्तो छ, पानी मार्न खोलामा जानुपर्‍यो भने । कृष्णाले भने केही नगर्ने भन्दै सुत्न भने । तर, उनले बाहिर सुतिरहेकी १३ वर्षीया छोरी मनिलालाई आफूसँग जान जिद्धि गरे ।

उनले खोलामा गएको केही समयपछि छोरालाई फोन गरेर ठूलो बाढी आएको सुनाउँदै आमालाई सुरक्षित स्थानमा सार्न भने । उनले आफूहरू बाँसघारीमा आइपुगेको जानकारी गराए ।

हामी उठेर छिमेकीको घरमा गयौं तर श्रीमान् र छोरी लामो समय फर्किएनन, हामी आत्तियौं, कृष्णाले गहभरि आँसु पार्दै भने, छिमेकीहरू त्यसतर्फ गए तर बाँसघारी नै बगाइसकेको रैछ । हामीलाई सुरक्षित स्थानमा सर्न लगाए तर उनी र छोरीलाई बाढीले बगायो । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।