ट्रक र बस ठोक्किाँदा १० को मृत्यु, २३ घाइते

घाइतेका उपचार हुँदै

भारत । दक्षिणी भारतको तमिल नाडु राज्यमा भएको सडक दुर्घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ भने, २३ जना घाइते भएको प्रहरी स्रोतले जनाएको छ ।

यात्रुबहाक बस र स्टील ढुवानी काममा लागेको एक ट्रक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले शनिबार जनाएको छ ।

तमिल नाडु प्रान्तीय राजधानी चेन्नाइबाट ३७३ किलोमिटर दक्षिणतर्फ पर्ने थान्जाभुर जिल्लाको भल्लाम इलाकामा सो दुर्घटना भएको बताइएको छ ।

गएराति भाल्लाम इलाकामा एउटा ट्रकले यात्रुबहाक बसलाई ठक्कर दिँदा १० जनाको मृत्यु हुनको साथै अन्य २३ जना घाइते भएका छन् एक प्रहरी अधिकारीले भने बसमा सवार कति यात्रुलाई ट्रकले ढुवानी गरेको स्टीलको छडले लागेर चोट लागेको छ , सो प्रष्ट नभएको पनि उनले थप जानकारी दिएको छ ।

राज्यद्वारा सञ्चालित यात्रुबहाक बसमा झण्डै ६० जना स्थानीय यात्रु सवार थिए । मृतकमध्ये आठ जना यात्रु रहेका छन् भने दुई जना चालक र उनका सहायक रेहका छन् ।

घाइते भएका सबैलाई थान्जाभुर मेडिकल कलेजको अस्पतालमा भर्ना गरिएको एक जना स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको जनाएको छ ।

घटनाको सत्यतथ्य पत्ता लगाउन छानविन भइरहेको तर प्रारम्भिक विवरण अनुसार तीव्रगतिका कारण दुर्घटना भएको अनुमान पत्ता लागेका प्रहरी अधिकृतले बताएका छन् ।

स्थानीय सरकारले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुका साथै घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
भारतमा सवारी साधनको कमजोर अवस्था, बिग्रिएको बाटो र ट्राफिक नियमको उलङ्घनलगायतका कारणले धेरै सवारी दुर्घटना हुने गरेका छन् ।

भारतको सडक यातायात मन्त्रालयले सन् २०१५ मा एक लाख ४६ हजार १३३ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको जनाएको छ । त्यसैगरी पाँच लाख २७९ जना घाइते भएका थिए भने देशभरीमा पाँच लाख एक हजार ४२३ वटा दुर्घटना भएको थियो ।

विश्वस्वास्थ्य संगठनले सार्वजनिक गरेको ‘ग्लोबल रोड सेफ्टी रिपोर्ट २०१५’ का अनुसार भारतमा सडक दुर्घटनामा परी वार्षिक औषत दुई लाख जनाको मृत्यु हुने गरेको छ । रासस