सत्तारूढ दलले भने , नामावली दर्ता अवधि बढाऊ

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगले तोकेको समयलाई बढाएर एक महिना पु¥याउन र स्थानीय तहबाटै संकलन गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

शुक्रबार दुई सत्ताघटक दलका नेताहरू कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालय पुगी नामावली संकलनका लागि आयोगले १ साउनदेखि १५ सम्म तोकेको समय कम हुने भन्दै साउनभर संकलन कार्य जारी राख्न र स्थानीय तहबाटै नामावली संकलनको व्यवस्था मिलाउन आयोगसँग आग्रह गरेका हुन् ।

उनीहरूले मध्य वर्षाको समयमा नामावली संकलन हुन लागेको भन्दै समय थप गर्न आयोगसँग आग्रह गरेका हुन् । भेटमा सहभागी नेताहरूले नामावली संकलनका लागि पहिलेकै व्यवस्था गर्नसमेत आयोगलाई आग्रह गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।