प्राधिकरणको बजेट १ खर्ब ४५ अर्ब पारित

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका लागि आर्थिक वर्ष २०७४ र ७५ को बजेट, नीति तथा कार्यक्रम पारित भएको छ ।

प्राधिकरण निर्देशक समितिको आजको बैठकले भूकम्पले भत्किएका संरचना पुनःनिर्माणका लागि रु एक खर्ब ४५ अर्बको बजेट र कार्ययोजना पारित गरेको हो ।

समितिका अध्यक्ष एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले पुनःनिर्माणमा हालसम्म भएका कामको समीक्षा पनि गरेका छन ।

बैठकमा सहभागी समिति उपाध्यक्ष एवम् नेकपा एमालेका नेता भीम रावलले प्राधिकरणको कार्यप्रगति सुस्त रहेको आरोप लगाए ।

उनले भने–‘अहिलेसम्म साढे दुई हजार घर पनि नबनेको देखियो, कर्मचारीका सम्बन्धमा पुरानै समस्या पुनरावृत्ति भयो, प्राधिकरणको काम छिटो छरितो होस् भनी निर्देशन दिइएको छ ।’

निर्माणाधीन घरको सङख्या एक लाख १० हजार रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले जानकारी दिए ।

उनले भने –‘म आउनुअघि एक हजार घर पनि बनेका थिएनन्, अहिले ४० हजार घर निर्माण सम्पन्न भएको छ, ५० हजार विद्यालय पुनःनिर्माणको क्रममा छन् ।’

प्रमुख कार्यकारी अधिकृत पोखरेलले आफू आउनुअघि बन्दै नबनेका घर बन्यो भनी प्राधिकरणकै वेभसाइटमा तथ्याङ्क देखाइएको पनि बताए ।

प्राधिकरण ऐनअनुसार पुनःनिर्माणका लागि छुट्याइएको बजेट निर्देशक समितिले पारित गर्नुपर्छ । ३१ जिल्ला हेर्ने गरी बनेको सङ्घठन संरचना पनि आजको निर्देशक समिति बैठकले पारित गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । रासस