हेडक्वार्टरमा माओवादी नेताको रिपोर्टिङ, अनुभवको कमीले पराजय

काठमाडौं । माओवादी केन्द्रका नेताहरूले स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत परिणाम ल्याउन नसक्नुमा अति आत्मविश्वास, गुटस्वार्थ, व्यक्तिवाद, पार्टीभित्रकै अन्तरघात र निर्वाचन अनुभवको कमी मूल कारण रहेको बताएका छन् ।

कतिपय स्थान जितिनेमा अति विश्वास (ओभर कन्फिडेन्स)का कारण पनि पार्टी पराजित हुन पुगेको नेताहरूले जिकिर गरेका छन् ।

दुई चरणमा सम्पन्न ६ वटा प्रदेशको चुनावी समीक्षा, २ नम्बर प्रदेशको स्थानीय चुनावदेखि प्रदेश र केन्द्रसम्मको चुनावको तयारी र संगठनात्मक कार्यायोजनाका विषयमा छलफल गर्न २ साउनमा बोलाइएको सचिवालयको विस्तारित बैठकको तयारीका लागि मंगलबार बसेको माओवादी हेडक्वार्टर बैठकमा रिपोटिङ गर्दै नेताहरूले त्यस्तो बताएका हुन् ।

बैठकमा १४ असारमा निर्वाचन भएको प्रदेश नम्बर १, ५ र ७ का प्रदेश इन्चार्ज तथा अन्य केही नेताले बोलेका थिए । पार्टी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुरूप परिणाम ल्याउन नसक्नुमा आन्तरिकदेखि कतिपय प्राविधिक कमजोरी पनि रहेको बताएपछि प्रदेश इन्चार्ज तथा अन्य नेताले बोलेका थिए । यो समाचार आजको अन्नपूर्णमा प्रकाशित छ ।