बाढीपीडितको बिचल्लीः चिउरा र धमिलो पानीको भर

सप्तरी । सप्तरीको विभिन्न ठाउँका स्थानहरुको आँगनमा अझै पनि डेढ फिटजति पानी रहेको छ। भान्छा पनि हिलाम्य, बाढीको पानीले ट्युबवेल पनि डुबानमै। सप्तरीको भेडियाका फागु खंगको घरको अवस्था हो ।यो बाढी आएको १० दिन भयो, घरमा चुलो बलेको छैन। राहतमा पाएको भुजा–चिउराको भरमा चार बालबालिकासहित १० जनाको परिवारले दिन काटिरहेको छ ।

बस्तीको तल्लो भेगमा घर रहेका कतिपय बाढीपिडित परिवारको अवस्था फागुको जस्तै छ। ुभान्छा हिलाम्य छ, चुलोमा पानी तालिएको छ, कसरी खाना बनाउनुु, समस्या सुनाउँदै फागुले भने राहतको चिउरा, मुरही र डुबानमा रहेको कल (ट्युबवेल) बाट निस्किने धमिलो पानी खाएर जसोतसो दिन काटिरहेको अवस्था छ। आफूहरुका लागि खानाभन्दा पनि पिउने पानीको प्रबन्ध ठूलो चुनौती भएको बाढीपीडितको भनाइ छ।

सशस्त्र प्रहरीको चिकित्सकीय टोलीले बाढी प्रभावित सप्तरीको भेडियाका बाढीपीडितलाई सोमबार स्वास्थ्य जाँच गर्नुका साथै प्रत्येक परिवारलाई पानी शुद्ध पार्ने पियूसु वितरण गरे तर पियूस मिसाएर खाने पानी भने छैन।

बाढी आएको १० दिन बित्दा पनि भेडियालगायतका बाढी प्रभावित क्षेत्रमा स्थानीय प्रशासनले खानेपानीको व्यवस्थापन गर्न सकेको छैन।

बस्तीका अधिकांश ट्युबवेल काम लाग्ने अवस्थामा छैनन्, सद्देबाट पनि धमिलो पानी मात्रै आउने गरेको छु, बाढीपीडित लखन मुखियाले भने, धमिलो पानीमा पियूसै मिसाएर कसरी खानु, खानेपानीको राम्रो व्यवस्थापन नहुँदा गाउँमा कतिपय बाढीपीडित बिरामीसमेत हुन थालेको छन ।

असार १३ गते महुली खोलामा आएको बाढी भेडिया र मैनाकडेरीमा तटबन्ध कटान गरी बस्तीमा पसेको थियो। बाढी आएको सातौं दिनमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मासहितको उच्चस्तरीय टोली भेडिया पुगेर निरीक्षण गरेको थियो ।

त्यस क्रममा गृहमन्त्री शर्माले तत्काल खानेपानीको उचित प्रबन्ध मिलाउन सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई सार्वजनिक रुपमै निर्देशन दिएका थिए ।

उनले भनेका थिए, बाढीपीडित कोही पनि भोकै बस्नुनपरोस्, सबैका लागि तत्काल खाना, खानेपानी तथा स्वास्थ्यसेवाको उचित प्रबन्ध मिलाउन म स्थानीय प्रशासनलाई निर्देशन दिन चाहन्छु । टोली फर्केको चार दिन बितिसक्दा पनि बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि खानेपानीको प्रबन्ध हुन सकेको छैन।

प्रधानमन्त्री देउवाले समेत बाढीपीडितका आधारभूत आवश्यकता तत्काल पूरा गरिने आश्वासन दिएका थिए तर त्यस दिशामा स्थानीय प्रशासनले गम्भीरतापूर्वक पहल गर्न नसकेको बाढीपीडितको गुनासो छ।

प्रधानमन्त्रीज्यूको भ्रमणपछि हामी निकै आशावादी बन्यौुं, स्थानीय सञ्जय साहले भने प्रधानमन्त्री आएपछि हाम्रो समस्या तत्काल सम्बोधन हुन्छ भन्ने लागेको थियो तर उनीहरु गएको चार दिनसम्म बित्दा पनि हाम्रो अवस्थामा खासै परिवर्तन आउन सकेको छैन ।

भेडियाको अवस्था बुझ्न र राहत वितरण गर्न सोमबार आएका कांग्रेस सांसद धनराज गुरुङले भेडियामा सबैभन्दा ठूलो समस्या खानेपानीकै पाएको बताए ।

खानेपानीको बडा जटिल समस्या देखें । प्रायः ट्युबवेलबाट धमिलो पानी आइरहेको छ, अवस्था यस्तै रहे बाढीपछि महामारीको समेत जोखिम हुन सक्छ, गुरुङले भने, स्थानीय प्रशासनलगायतका राज्य संयन्त्रले यसप्रति गम्भीर भएर पहल गर्नुपर्ने खाँचो छ । यससम्बन्धमा काठमाडौं पुग्नेबितिकै पहल थाल्ने उनले बताए ।

बाढीपीडितको स्वास्थ्यजाँचका लागि आएको सशस्त्र प्रहरीको चिकित्सकीय टोलीमा सहभागी डा। राकेशकुमार झाले भेडियालगायतका बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यसमस्या भने खासै नदेखिएको बताए।

खानेपानी तथा सरसफाइको उचित प्रबन्ध गर्न नसकेमा भने आगामी दिनमा गम्भीर समस्या निम्तिन सक्ने उनको भनाइ छ । अहिले खासै समस्या छैन तर खानेपानी तथा सरसफाइमा सजगता नअपनाइए झाडापखालालगायतका रोग फैलिन सक्ने खतरा हुन्छु, डा। झाले भने, तत्काल हामी प्रत्येक परिवारलाई पियूस तथा जीवनजलसमेत वितरण गरिरहेका छौं ।

बाढी प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाइको उचित व्यवस्थापन नभए झाडापखाला, छालाको रोग, भाइरल ज्वरोलगायतका समस्या देखिने खतरा रहेको उनले बताए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले खानेपानी तथा सरसफाइ कार्यालयलाई भेडिया सहितका बाढी प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाइको उचित व्यवस्थापन गर्न निर्देशन दिइसकेको बताए ।

तथ्यांक संकलनलगायतका काम पूरा हुन नसकेकाले खानेपानी व्यवस्थापनमा ढिलो भएको उनको भनाइ छ ।  यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।