कश्मीरमा दुई पक्षबीच गोली हानाहानः सात तीर्थयात्रीको मृत्यु

प्रहरीसहित १९ जना घाइते

भारत । भारतको कश्मीरमा दुई पक्षबीच भिडन्त हुँदा विद्रोहीको हमलाका कारण सात जना हिन्दु तीर्थयात्रीहरुको गोली लागेर मृत्यु भएको छ । उक्त घटनामा परी ज्यान गुमाउनेमध्ये ६ जना महिला रहेका छन्।

भारतको एक मात्र मुसलमान बहुल राज्य मानिने कश्मीरको अनंतनाग जिल्लामा विद्रोही आक्रमणकारीहरुले सुरक्षाकर्मीहरु चढेको गाडीहरुमाथि हमला गरेका हुन।

एक जना प्रहरी अधिकारीले भने–‘तीर्थयात्रीलाई आक्रमण गर्ने उद्देश्यले हमला गरिएको होइन जस्तो देखिन्छ। तर दुई तर्फी गोली हानाहानकोबीचमा तीर्थालु चढेको बस पनि फसेको थियो।’

प्रहरीका अनुसार उक्त बसले तीर्थयात्री बोक्ने अनुमति नलिएर नियम विपरित रातिको समयमा चलिरहेको थियो। उक्त आक्रमणलाई लज्जाजनक भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसलाई जति भर्त्सना गरेपनि कम हुने बताएका छन्।

विद्रोहीको आक्रमणमा परेको उक्त बसमा कूल ५६ जना यात्रु सवार थिए । उक्त हमलाबाट १९ जना घाइते भएका छन । ती मध्ये केही प्रहरी रहेको बताइएको छ।(अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट)