मुसा लाग्ने कभर्ड हल भित्र ४४ दिनदेखि प्रहरी घेरामा ‘मतपत्र’

चितवन । मध्यरातमा मतपत्र च्यातिएसँगै भरतपुर महानगरपालिकाका गणना सकिएका र गन्न बाँकी मतपत्र ४४ दिनदेखि प्रहरी घेरामा छन्।

यस प्रकरणमाथिको मुद्दामा सर्वोच्चको सुनुवाइ सर्दै गएकाले अब के गरिने हो भन्ने अन्योल झन्झन् बढदै गएको छ । गणना हुने हो वा पुनः मतदान भन्नेबारे कुनै टुंगो लाग्न सकेको छैन । सोमबार हुने भनिएको सुनुवाइलाई सर्वोच्चले फेरि साउन २ का लागि सारेको छ ।

जेठ १४ गते राति गणनाकै क्रममा माओवादी केन्द्रका प्रतिनिधिद्वारा मतपत्र च्यातिँदा वडा नम्बर १९ र २० को मत गन्न बाँकी थियो । १९ मा २ हजार ८ सय ९७ मत खसेकोमा १ हजार ८ सय मत मात्र गणना भएको थियो ।

गणना जारी रहेकै बेला मतपत्र च्यात्ने माओवादी केन्द्रका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गर्‍यो । गणना रोकियो । २० नम्बर वडामा ३ हजार ३ सय २ मत खसेको थियो ।

भरतपुरको कभर्ड हलमा गणना गरिएको हो । पहिले हलको आसपास क्षेत्रलाई निषेधित घोषणा गर्दै प्रहरीले घेरा हालेको थियो । अहिले कभर्ड हलसँग जोडिएको ठाउँमा मात्र प्रहरीले सुरक्षा दिएर बसेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।