नेपाल प्रहरी स्मारक गुठीलाई रकम हस्तान्तरण

काठमाडौं । दोश्रो चरणको स्थानीय तहको निर्वाचनका सिलसिलामा म्यादी प्रहरीको रुपमा कार्यरत पुजन बराल (पूर्व प्रहरी महानिरीक्षक खड्गजीत बरालका नाति) ले तलब बापत प्राप्त ५० हजार रुपैयाँ प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबिच नेपाल प्रहरी स्मारक गुठीलाई हस्तान्तरण गरेका छन् ।

सो कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आफूले दुःखका साथ आर्जन गरेको तलब बापतको रकम नेपाल प्रहरी स्मारक गुठीलाई खुसी साथ हस्तान्तरण गरी बरालले विशाल हृदयको परिचय दिएको बताएका छन ।

साथै यस्ता साना–साना कदमले समाजका अन्य वर्गले समेत प्रहरीलाई सहयोग गर्न प्रेरित गर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक अर्यालले म्यादी प्रहरीको रुपमा केही समय नेपाल प्रहरीमा आबद्ध रही स्मारक गुठीलाई रकम हस्तान्तरण गरेकोमा बराललाई धन्यवाद दिनुका साथै उज्जवल भविष्यको शुभकामना समेत व्यक्त गरेका हुन।

उक्त अवसरमा बरालले म्यादी प्रहरीको रुपमा समाजसेवा गर्ने अवसर प्रदान गरेकोमा नेपाल प्रहरीलाई धन्यवाद ज्ञापन गर्दै सो बापत पहिलो आम्दानीको रुपमा प्राप्त गरेको रकम नेपाल प्रहरी स्मारक गुठीलाई हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको समेत बताए ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै स्मारक गुठीका कार्यकारिणी निमित्त अध्यक्ष प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायले बरालले स्थानीय तह निर्वाचनमा कार्य गरी गुठीलाई पुर्यारएको योगदान प्रति आभार व्यक्त गर्दै प्रहरी संगठनका लागि सदैव सम्झन योग्य कार्य गरेको बताएका छन ।

कार्यक्रममा नेपाल प्रहरी स्मारक गुठीका कार्यकारिणी समितिका पदाधिकारीहरुका साथै बरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।