मन्त्री छैनन्, सचिव पनि विदेश भ्रमणमा

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा कर्मचारीहरू भेटिन छाडेका छन् ।

एक महिनादेखि २३ मन्त्रालय मन्त्रीविहीन हुँदा सिंहदरबार परिसर सुनसानजस्तै देखिन्छ । विभिन्न मन्त्रालयका सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृतहरू पनि विदेश भ्रमणमा जाने क्रम बढेको छ ।

असार मसान्तमा मन्त्रालयमा विभिन्न शीर्षकमा बाँकी रहेको बजेट सक्न उच्चपदस्थ कर्मचारी विदेश भ्रमणमा जाने गरेका हुन् ।

प्रधानमन्त्री कार्यालयकै सचिव विदेशमा

प्रधानमन्त्री कार्यालयका एक सचिव र सहसचिव यतिखेर विदेशमै छन् । सचिव रामकुमार आचार्यसहितको एउटा टोली हालै विदेश भ्रमणमा गएको छ । उनी केही दिनअघि मात्रै विदेशबाट फर्किएका थिए । अरू तीन–चारवटा टोली पनि भ्रमणको तयारीमा रहेको स्रोतले जनाएको छ । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।