अर्जुनधारा नपाको मतपरिणाम आज साँझसम्म आउने

झापा । स्थानीय सम्पन्न दोस्रो चरणको निर्वाचनअन्तर्गत अर्जुनधारा नगरपालिकाको अन्तिम परिणाम आज साँझमा आउने भएको छ ।

अहिलेसम्ममा २८ हजार ४६२ मतगणना भइसकेकामा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार हरिकुमार राणाले १३ हजार २५४ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका हेमराज खरेलले नौ हजार १६६ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार कमला आचार्य खतिवडाले १२ हजार २८२ तथा काँग्रेसका सरस्वती सिटौलाले १० हजार ६२ मत प्राप्त गरेका छन् ।

यही असार १४ गते सम्पन्न निर्वाचनमा अर्जुनधारा नगरपालिकाबाहेक सबै गाउँपालिका र नगरपालिकाको मतपरिणाम आइसकेको छ ।

विवादका कारण चार दिन रोकिएको नगरपालिकाको मतगणना असार १७ गते बेलुकादेखि पुनः सुरु भएको निर्वाचन अधिकृत राधाकृष्ण खतिवडाले बताएका छन् । कुल ४० हजार ४३० मतदाता रहेको नगरपालिकामा ३० हजार ३७ मत खसेको थियो । रासस