सरकार विस्तारमा के पाउँछन् साना दलले ?

काठमाडौं । प्रधानमन्त्री निर्वाचनमा शेरबहादुर देउवाको पक्षमा मतदान गरेका माओवादी केन्द्रबाहेकका दलहरू सरकारमा जान तम्तयार छन् ।

राप्रपा, लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, अखण्ड पार्टी र समाजवादी जनता पार्टी सरकारमा जान इच्छुक भए पनि प्रमुख सत्तारुढ कांग्रेससँग छलफल गर्न पाएका छैनन् ।

मुख्य सत्तासाझेदार माओवादी केन्द्रसँग मन्त्रालय भागबन्डा नटुंगिएकाले साना दलसँग छलफल गर्न नसकिएको कांग्रेस नेताहरूले बताएका छन् ।

कुर्दै साना दल
सरकार गठनका वेला कांग्रेसले नेकपा संयुक्तलाई सरकारमा सहभागी गराउने वचन दिएको थियो । त्यसपछि भने कुनै छलफल नभएको पार्टी अध्यक्ष गणेश शाहले बताए । वातावरण मन्त्रालय दिने सहमति भएको उनले बताए । ‘भद्र सहमति पालना गरे सरकारमा भाग पाउनुपर्ने हो, साहले भने संसद्मा संयुक्तको तीन सिट छ ।

देउवाको उम्मेदवारीमा समर्थक रहेका समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले मन्त्रालय पाउने सहमति नभएको बताएका छन् । ‘मन्त्रालय पाउने सहमति भएर समर्थन गरेको होइन, मन्त्री बनाउने–नबनाउने भन्ने निर्णय प्रधानमन्त्रीले दिने हो, उनले भने–‘समाजवादी पार्टीको एक सिट छ ।’

देउवाको समर्थक बनेका अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्काले सरकारमा सहभागिताबारे छलफल नभएको बताए । ‘सरकार गठनका वेला प्रचण्ड नेतृत्वमा सरकारमा सहभागी दललाई दोहोर्याउने वचन दिएका छन । अहिले कुनै कुरा आएको छैन, खड्काले भने । संसद्मा अखण्ड पार्टीको एक सिट छ ।  यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।