नारायणगढ-मुग्लिन सडक आइतबारदेखि राति बन्द

चितवन । निर्माणाधीन नारायणगढ- मुग्लिन सडक असार २५ गते आइतबारदेखि रातको समयमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा बिहीबार भरतपुरमा बसेको सर्वदलीय बैठकले नारायणगढ(मुग्लिन सडकखण्डमा आइतबार साँझ ६ बजेदेखि बिहान पाँच बजेसम्म सवारीसाधन चल्न नदिने निर्णय गरेको हो ।

आइतबार साँझदेखि नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधन साँझ ६ बजेदेखि बिहान चार बजेसम्म र मुग्लिनबाट भरतपुरतर्फ आउने सवारीसाधन साँझ सात बजेबाट बिहान पाँच बजेसम्म बन्द गर्ने निर्णय भएको छ ।

सडक स्तरोन्नतिका क्रममा रहेको उक्त सडकखण्डमा वर्षायामसँगै पहिरो झरेर सडक अवरुद्ध हुनाका साथै मानवीय क्षतिसमेत हुन थालेपछि संसद विकास समितिको निर्देशनअनुसार थप सुरक्षाको प्रबन्ध गर्ने र रातको समयमा सडक बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिए । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।