भारतमा पहिरोमा एकै परिवारका तीन जना नेपालीको मृत्यु

दुई जना घाइते

दार्चुला । भारतमा पहिरामा परी तीनजना नेपालीको मृत्यु भएको छ । बिहिवार भारत उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धारचुला तहसिलको गर्बाधारमा पहिरो जाँदा जिपमा सवार तीन नेपालीको मृत्यु भएको हो । घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् ।

मृत्यु हुनेमा दुँहु गाउँपालिकाको पिपलचौरीका हिरादेवी बम, उनका अढाई वर्षीय छोरा ओमकार र १२ वर्षीया छोरी प्रियंका रहेका प्रहरी नायव उपरीक्षक केदार खनालले जानकारी दिए ।

उक्त घटनामा परी तीन भारतीय नागरिकको समेत मृत्यु भएको छ ।

घाइते नेपालीको भारतको धारचुलास्थित अस्पतालमा उपचार भइरहेको छ । भारतीय बाटो हुँदै दार्चुला सदरमुकाम खलङ्गा फर्किदै गरेका नेपाली पहिरामा परेका हुन् । रासस