सिमकार्ड नक्कली नागरिकताबाट बाँड्दा अपराध बढ्योः प्रहरी

काठमाडौं । सिमकार्ड दुरुपयोग नभएको भए दाङका व्यवसायी राजकुमार श्रेष्ठको अपहरणको अनुसन्धान गर्न प्रहरीलाई तीन साता लाग्ने थिएन । अपहरणकारीले अरूको नाममा सिमकार्ड निकालेर प्रयोग गरेका थिए ।

जसका कारण प्रहरीलाई अनुसन्धान गर्न ठूलै सकस भयो । ‘अपहरणको योजनाकै लागि उनीहरूले अरूको नागरिकताबाट सिमकार्ड निकालेको देखिन्छ, दाङका एसपी धीरजप्रताप सिंह भन्छन् –‘सीमकार्ड वितरण व्यवस्थित नहुँदा अनुसन्धानमा निकै समस्या भयो ।’

तुलसीपुरका टीकाराम घर्तीले आफ्नै २० वर्षीया छोरी पूजा घर्तीमगरलाई प्रयोग गरी व्यवसायी श्रेष्ठको अपहरण गरी हत्या गरेका थिए । अपहरणकै उद्देश्यले उनीहरूले नचिनेका व्यक्तिहरूको नागरिकताको फोटोकपी प्रयोग गरेको प्रहरीले जनाएको छ ।

गत २६ जेठमा श्रेष्ठको अपहरण भएकोमा ११ असारमा मात्र अपहरणकारी पक्राउ परेका थिए । अपहरणका मुख्य योजनाकार अझै फरार छन् । पेसेवर आपराधिक समूहबाट हुने धेरैजसो योजनाबद्ध अपराध यसैगरी अन्य व्यक्तिको नाममा सीमकार्ड निकाल्ने गरिएको छ ।

सीम वितरणमा अपनाइएको सहज प्रक्रियाका कारण दुरुपयोग बढेको हो । यसले अपराध नियन्त्रणमा समस्या भएको प्रहरी अधिकारीहरू बताउँछन् । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।