नेपाल स्ट्रोम्सले जित्यो एसियन क्लब प्रिमियर लिगको उपाधि

काठमाडौं । राजधानीमा सम्पन्न एसियन क्लब प्रिमियर लिग ९एपीएल०को उपाधि नेपाल स्ट्रोम्सले जितेको छ । मंगलबार भएको फाइनलमा नेपालले श्रीलंकन लायन्सलाई २७ रनले पराजित गर्दै उपाधि जितेको हो ।

टीयू मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले वर्षाले प्रभावित खेलमा महत्वपूर्ण जित हात पार्यो । वर्षाका कारण समयमै सुरु नभएको खेल १० ओभरमा घटाइएको थियो ।

यस्तोमा नेपालले ७ विकेट गुमाउँदै १ सय ८ रन बनाएको थियो । नेपालका लागि कप्तान पवन चन्दले ४२ रन बनाए भने जितेन्द्र शर्माले २३ रन जोड्दै नेपाल स्ट्रोम्सलाई समानजनक अवस्थामा पुर्याएका थिए । नेपाली खेलाडीको प्रतिनिधित्व गरेका भूपेन्द्र थापाले फाइनल भिडन्तमा १४ रन बनाएर पेबिलियन फर्किएका थिए ।

१० ओभरमा १ सय ९ रनको चुनौतीपूर्ण लक्ष्य लिएर मैदानमा उत्रिएको श्रीलंकन लायन्सले १० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्र बनायो । उसलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि आशिष विष्ट, मल्विंडर र बारबाडेले समान २–२ विकेट लिए । खेलमा नेपाल स्ट्रोम्सका कप्तान पवन म्यान अफ द म्याच घोषित भएका थिए । जितसँगै नेपालले उपाधिसहित ४० लाख नगद हात पार्यो ।

उपविजेता श्रीलंकन लायन्स १६ लाख नगद जित्न सफल भयो । प्रतियोगिताको बेस्ट बलर नेपाल स्ट्रोम्सका आशिष विष्ट घोषित हुँदा बेस्ट ब्याट्सम्यान पनि नेपाल स्ट्रोम्सका कप्तान पवन चन्द नै प्राप्त गर्न सफल भए । म्यान अफ द सिरिज पनि नेपाल स्ट्रोम्सका पवन चन्द घोषित भएका थिए ।यो समाचार आजको राजधानीमा प्रकाशित छ ।