हेर्नुहोस को-को भए माओवादीबाट मन्त्री ?

काठमाडौं । सत्तारुढ माओवादीले आफ्नो तर्फबाट मन्त्री हुनेको नामावली लगभग टुंग्याएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको प्रतिनिधित्व गर्ने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् ।

मन्त्रीको नामावली टुंग्याउन माओवादीले कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मा रहेको कार्यदल गठन गरेको थियो । कार्यदलको सिफारिस अनुसार र केन्द्रीय कार्यालयले अन्तिम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

माओवादीले प्रदेश नं १ बाट शिवकुमार मण्डलको नाम टुंग्याएको छ । त्यस्तै, प्रदेश नं २ बाट प्रभु साहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । सोही प्रदेशका गिरिराजमणि पोखरेललाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिने तय भएको स्रोतको दाबी छ । माओवादीले प्रदेश नं ३ बाट रामेछाप–२ का सांसद श्यामकुमार श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने भएको छ । प्रदेश नं ४ का हितराज पाण्डेलाई दोहोर्‍याउने की तनहुँकी आशा खनाललाई मन्त्री बनाउने भन्नेबारे छलफलमै छ । अहिलेसम्म सो प्रदेशका कसैको पनि नाम नपठाइएको स्रोतको भनाइ छ ।

प्रचण्ड नेतृतवको सरकारमा स्थानीय विकास मन्त्री रहेका पाण्डेलाई पछि पशुपंक्षी विकास मन्त्रालय पठाउन खोजिएको थियो । तर उनले अस्वीकार गरेका थिए । राप्रपा अध्यक्ष कमल थापालाई स्थानीय विकास मन्त्रालय दिन पाण्डेलाई अचानक उनलाई हटाइएकोले यसपालि पाण्डेलार्इ दोहोर्याउने विषयमा पार्टीमा छलफल छ ।

तर, पार्टीको तर्फबाट महिलालाई पनि पठाउनुपर्ने भएकोले तनहुँकी खनालको नाम पनि प्रस्ताव भएको छ । आशाले अवसर पाए महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने कार्यदलका एक सदस्यले बताए । प्रदेश नं। ५ का कृष्णबहादुर महरा उपप्रधानसहित परराष्ट मन्त्रालयको जिम्मेवारीमा छन् ।

त्यस्तै प्रदेश ६ का जनार्दन शर्मा प्रभाकर गृहमा छन् । माओवादीले प्रदेश नं ६ का अर्का सांसद महेन्द्रबहादुर शाहीलाई पनि अवसर दिदैंछ । कालिकोटका सांसद शाहीले उर्जा मन्त्रालयको जिम्मेवारी पाउनेछन् ।

प्रवक्ता पम्फा भुसालले प्रत्यक्ष निर्वाचन जितेका, यसअघि मन्त्री नभएकाहरुलाई समावेशी आधारमा मन्त्री छनौट गर्ने पार्टीको नीति रहेको बताइन् । तर को–को मन्त्री बने भन्ने आफुलाई जानकारी नभएको बताइन् । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।