किन खुम्चियो माओवादी

काठमाडौं । पहिलो चरणमा १० नगरपालिका जितेको माओवादीले दोस्रो चरणको मत परिणाम सार्वजनिक भइरहँदा तीनवटा नगरपालिकाबाहेक अन्यमा जित हासिल गर्न सकेको छैन । निर्वाचनबाट पहिलो पार्टी बन्ने दाबी नगरे पनि प्रतिस्पर्धी कांग्रेस(एमालेकै हाराहारीमा ‘स्ट्रोङ थर्ड(बलियो तेस्रो शक्ति) हुने आकलन माओवादी केन्द्रको थियो ।

तर, माओवादीले यसपटक आफ्नै बलियो आधार इलाका मानिएको रोल्पाकै पनि तीनवटा तह गुमाएको छ । रोल्पाको दुई तह एमाले र एउटा कांग्रेसले माओवादीको पोल्टाबाट खोस्न सफल भएका छन् ।

दोस्रो चरणको निर्वाचनमा अहिलेसम्म जितेको नगरपालिकामध्ये एउटा रोल्पा नगरपालिका, अर्को बर्दियाको बाह्रबर्दिया नगरपालिका तथा तेस्रो अर्घाखाँचीको भूमिकास्थान नगरपालिका मात्रै हो ।

निर्वाचन तथ्यांक विश्लेषण गर्ने हो भने माओवादीले दोस्रो संविधानसभा निर्वाचनभन्दा केही हदसम्म मत प्रतिशत बढाएको छ । तर, जितेको परिणाम हेर्ने हो भने सहरमा होइन, गाउँमै माओवादी खुम्चन पुगेको छ ।

पछिल्लो मतपरिणाममा प्रदेश नम्बर १ मा ८, प्रदेश नम्बर ५ मा १६ र प्रदेश नम्बर ७ मा ४ तह माओवादीले जितेको छ । ७० को संविधानसभा निर्वाचनमा १ नम्बर प्रदेशका १४ जिल्लाका ४४ निर्वाचन क्षेत्रमध्ये उसले एक स्थानमा मात्र जितेको थियो । एमालेले २३, कांग्रेसले १७ क्षेत्रमा निर्वाचन जितेका थिए ।

त्यस्तै, प्रदेश नम्बर ५ का १२ जिल्लाका ४१ निर्वाचन क्षेत्रमध्ये माओवादीले ६ स्थानमा चुनाव जितेको थियो । यो प्रदेशभित्रका निर्वाचन क्षेत्रमध्ये कांग्रेसले १७, एमालेले १३ स्थानमा जितेको थियो । प्रदेश नम्बर ७ का ९ जिल्लाका २१ निर्वाचन क्षेत्रमध्ये १ स्थानमा मात्र माओवादीले जितेको थियो । त्यहाँका ९ क्षेत्रमा कांग्रेस, ९ क्षेत्रमा एमाले र अन्य क्षेत्र अन्य पार्टीले जितेका थिए । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।