बाढीले डुबायो सप्तरीमा १५ सय भन्दा बढी घरहरु

सप्तरी । सप्तरीका विभिन्न ठाउँहरुमा गएको शुक्रबार रातभरको भारी वर्षापछि आएको बाढीले सप्तरीका विभिन्न गाउँपालिका र नगरपालिकाका १५ सयभन्दा बढी घर डुबानमा परेका छन् ।

बाढीले कम्तीमा २ सय ३६ घर बगाएको छ भन्ने अनुमान गरिएको छ । भन्सार, प्रहरी पोस्टलगायत सरकारी कार्यालयहरु जलमग्न भएका छन् । बाढीले विभिन्न खोलाका तटबन्ध क्षति पुर्‍याउँदा भेल बस्तीमा पस्ने क्रम रोकिएको छैन ।

कोसीको भंगालोमा सशस्त्र प्रहरीका एक हवलदारको शव भेटिएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय, राजविराजका एसपी रामाधार यादवका अनुसार इलाम घर भई सशस्त्र प्रहरी बीओपी तिलाठीस्थित बेल्ही भन्सारमा कार्यरत सहायक हवलदार सुमन आचार्यको सो बाढीमा डुबेर मृत्यु भएको छ ।

उनको शव बीओपी कार्यालयबाट ४ सय मिटरपूर्व कोसीको भंगालोमा देखिएपछि पूर्वी मुख्यालय, पकलीबाट आएको गोताखोर टोलीले निकालेको थियो ।

शनिबारै लौनिया बस्तीनजिक आडो खोलाको बाढीले ल्याएको एक बेवारिस शव फेला परेको स्थानीय गजेन्द्र मण्डलले जनाएका छन । यो समाचार आजको कान्पिुर दैनिकमा प्रकाशित छ ।