माओवादी केन्द्र लालझाँडीमा विजयी

एमालेका उम्मेदवार १४५ मतले पराजित

कञ्चनपुर । दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा कञ्चन्पुरको लालझाँडी गाउँपालिकामा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरु विजयी भएका छन् ।

शुक्रबार राति अबेर सम्पन्न मतगणनाको अन्तिम परिणामानुसार लालझाँडी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका मदन बडायक र उपाध्यक्षमा सत्यादेवी महरा विजयी भएका हुन् ।

लालझाँडी गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयका अनुसार बडायक उनका निकटतम प्रतिद्वन्दी एमालेका निर्मल रानालाई १४५ मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन् ।

बडायकले दुई हजार ५०९ र रानाले दुई हजार ३६४ मत तथा उपाध्यक्षमा माओवादी केन्द्रका सत्यादेवी महराले दुई हजार ३४५ र उनका निकटम प्रतिद्वन्द्वी एमालेकी फरिता चौधरीले दुई हजार २२१ मत ल्याएका छन् ।

सो क्षेत्रमा १० हजार आठ सय ५१ मतदातामध्ये आठ हजार नौ सय ६२ मत मात्र खसेका थियो ।