एकै दिन दुई पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक अवरुद्ध

चितवन । एकै दिन दुई पटक पहिरो खस्दा मुग्लिन–नारायणगढ खण्ड फेरि अवरुद्ध भएको छ । शुक्रबार बिहान झरेको पहिरो पन्छाइनसकिँदै इच्छाकामना गाउँपालिका–६ कालीखोलाबाट मुग्लिनतर्फको ५ सय मिटर दूरीमा दिउँसो अर्को ठूलो पहरो खसेपछि रातिसम्म यातायात सञ्चालन हुन सकेको छैन । पहिरोले बगाएर एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा स्थानीय ६१ वर्षीय एकबहादुर मगर छन् । सडक डिलमा बसेका मगरलाई पहिरोले त्रिशूली किनारमा पुर्‍याएको थियो । प्रहरी उपरीक्षक दीपक थापाका अनुसार अपराहन फेला परेको शव परिवारको जिम्मा लगाइएको छ ।

शुक्रबार दिउँसो खसेको पहिरो यसअघिका भन्दा फराकिलो रहेकाले सडकको धेरै भाग ढाकेको छ । उक्त खण्ड हुँदै राजधानीलगायत क्षेत्रमा ओहोरदोहोर गर्ने यात्रुवाहक सवारीसाधनलाई वैकल्पिक मार्गबाट पठाइएको छ ।

मालवाहक ट्रक सुरक्षित स्थानमा पार्किङ गराइएको छ । ट्रकको लाइन कविलासको दासढुंगादेखि भरतपुरको आँपटारीसम्म छ । केन्द्रीय बस टर्मिनलमा रहेको खाली चौरसमेत भरिएको छ । यो समाचार आजको कान्तिपुरमा प्रकाशित छ ।