कालोबजारी रोक्न विशेष संयन्त्र

इटहरी । सरकारले निर्वाचन प्रयोजनका लागि अन्तरदेशीय सीमा नाका बन्द गरेपछि अत्यावश्यकीय सेवा सुचारु गर्न सुरक्षा निकायसहितको स्थानीय प्रशासनलाई अनुगमनमा खटाएको छ ।

तीन दिनका लागि नाका बन्द गरिएपछि इन्धन र अन्य उपभोग्य बस्तुमा हुनसक्ने कालोवजारी नियन्त्रण गर्न सुरक्षा निकायसहितको संयन्त्र परिचालन गरिएको हो ।

निर्वाचनको मौन अवधिमा इन्धन र उपभोग्य वस्तुमा कालोबजारी तथा कृत्रिम अभाव, विद्युत् आपूर्तिमा अवरोध, मतदातालाई प्रभावित बनाउने क्रियाकलापलाई नियन्त्रण गर्न चार वटै सुरक्षा निकायले विषेश संयन्त्रलाई परिचालन गरेका छन् ।

प्रदेश नं। १, ५ र ७ मा स्थानीय तह निर्वाचन बुधबार हुँदैछ । यसलाई लक्षित गरी सोमबारदेखि ७२ घण्टासम्म उत्तरी र दक्षिणी सीमा नाका सिल गरिएको छ ।

नाका सिल गर्नुअघि नेपाल र भारतका प्रशासन र सुरक्षा निकायको टोलीबीच सीमा अपराधसहितका संदिग्ध गतिविधि नियन्त्रण गर्न कुनै कसुर बाँकी नराख्ने सहमति पनि भएको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।