सचिव मैनालीको सरुवाबारे आयोगले भन्यो, उनीहरुबाट असहयोग थियो

काठमाडौं । निर्वाचन आयोगले आयोगका तात्कालीन सचिव गोपीनाथ मैनालीको सरुवा प्रकरणमा आफ्नो मौनता तोडेको
छ । आयोगले सचिव मैनालीले पहिलो चरणकै निर्वाचनमा नियतवस विभिन्न वाधा, अवरोध र असहयोग पुर्‍याएको आरोप लगाएको छ ।

आयोग बैठकको निर्णय अनुसार प्रकाशित विज्ञप्तिमा मैनालीले पुर्‍याएको अवरोधलाई न्यूनीकरण गर्दै असहज वातावरणमा प्रथम चरणको निर्वाचन सम्पन्न भएको उल्लेख छ ।

मैनालीको अव्यवहारिक परामर्श, बारम्बार गैर जिम्मेवारपूर्ण र अनावश्यक दवाव र धम्कीका बाबजूद निर्वाचन समाग्रीको व्यवस्थापन समयमै गर्न सकिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आयोगले तात्कालीन सचिव मैनालीबाट निर्वाचन कार्यमा कस्तो खालको असहयोग भयो भन्ने विषय प्रष्ट ढंगले खुलाएको छैन । साथै, सचिव मैनालीबाट लगाइएको गाडी खरीद प्रकरणमा अनियमितता गर्न खोजिएको आरोप साथै कर्मचारीको कल डिटेल मागिएको विषयमा पनि आयोग मौन छ ।

दोस्रो चरणको निर्वाचभन्दा ५ दिन अगाडि असार ८ मा आयोगकै सिफारिसमा सरकारले सचिव मैनालीको सरुवा गरेको थियो । निर्वाचनको मुखमा गरिएको सचिव सरुवा र सरुवापछि मैनालीले दिएको अभिव्यक्तिले आयोग विवादित बनेको छ ।

आयोगले भ्रामक र आधारहीन प्रचारबाजी गरेको भन्दै सचिव मैनालीलाई व्यवसायीक तथा नैतिक अनुशासन भित्र राख्न सरकारलाई आग्रह समेत गरेको छ । यो समाचार आजको कान्तिपूर दैनिकमा प्रकाशित छ