मतदाता रोपाइँ छाडेरै निर्वाचनमा होमिदैँ

झापा । बीस वर्षपछि आज हुन लागेको दोस्रो चरणको स्थानीय निर्वाचन पूर्वका गाउँहरुमा यसरी लागेको छ, मानौं कुनै भव्य उत्सव आयोजना भइरहेको छ ।

राजपालाई मनाउने प्रयासमा यसअघि कहिल्यै नभएको तिथि मध्यअसारमा तोकिएको चुनावले रोपाइँमा असर पुर्‍याएको छ तर किसानलाई भने यसको कुनै परवाह छैन ।

यसअघि तीन कार्यकाल स्थानीय निर्वाचन नभई जनप्रतिनिधिविहीन बस्नुपरेको तोडमा मतदाता यसपालि सचेत देखिएका छन्उ । नीहरूले उपलब्धमध्ये सर्वोत्तम छनोटका लागि तयारी गरिरहेको छनक गाउँका चियापसल, चोक र चौतारामा बुझ्न सकिन्छ । चुनावका कारण व्यापार, व्यवसाय पनि प्रभावित भएका छन् ।

काठमाडौंलगायत बाहिरबाट मतदान गर्नै भनेर स्थानीय गाउँमा ओइरिरहेका छन् । मौनअवधि सुरु भइसकेपछि गाउँ उत्रिएका मतदाता उम्मेदवारको विशेषता थाहा पाउन खासखुस गरिरहेका छन् ।

प्रदेश नम्बर एकको सुदूर पूर्वी जिल्ला झापाका कतिपय ठाउँमा रोपाइँको काम सुरु हुनै सकेको छैन, रोपाइँ भएकै ठाउँमा पनि स्थानीय चुनावको चर्चाले खेतीपाती ओझेल पारेको छ ।

स्थानीय निर्वाचनको दिन बुधबार किसानले मतदान गर्न जानुपर्ने भएका कारण रोपाइँ राखेका छैनन् पनि । विर्तामोड नगरपालिका १० स्थित विराटपोखरनजिक स्थानीय प्रमिला महतो, प्रतिमा राजवंशी, मालती महतोलगायत १५ जना किसान मंगलबार धान रोप्दै थिए तर चर्चा त्यहाँ पनि चुनावकै थियो ।

उनीहरूलाई मेलो कसरी सिध्याउने भन्ने हतारो पनि थियो । मतदानका लागि जान बुधबारको मेलो पनि मंगलबार नै सक्नुपर्ने चटारो उनीहरूलाई थियो । यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।