बचत बजेट उत्पादनशील क्षेत्रमा लगानी गर्ने प्रस्ताव

काठमाडौं । सरकारले समयमै बजेट खर्चन नसक्दा सरकारी ढुकुटीमा यतिबेला २ खर्ब ६३ अर्ब रुपैयाँ बचत भएको छ । राजस्व लक्ष्यभन्दा बढी संकलन भए पनि खर्च गर्ने प्रवृत्तिमा सुधार नहँुदा सरकारी ढुकुटीमा रकम थुप्रिएको हो ।

नेपाल राष्ट्र बैंकले सरकारको ढुकुटीमै बचत भएको यो रकम बैंक तथा वित्तीय संस्थाहरूमार्फत उत्पादनशील क्षेत्रमा लगानी गर्ने प्रस्ताव गरेको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले भने–‘हरेक वर्ष पुँजीगत खर्च हुन नसक्दा सरकारी ढुकुटीको आकार बढेको बढ्यै छ, त्यसैले यसको उपयोग गर्दै उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न सकिन्छ कि भनेर सोचेका छौं, यस विषयमा अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीसँग हामीले अलग–अलग छलफल पनि गररेको छौं ।’

राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक समेत रहेका थापाले सरकारले राष्ट्र बैंकलाई ४ प्रतिशत ब्याजमा उक्त रकम दिने र त्यो रकम केन्द्रीय बैंकले वाणिज्य बैंकहरूमार्फत सहवित्तीयकरण कर्जाका रूपमा ९ प्रतिशतसम्मको ब्याजमा उत्पादनशील क्षेत्रमा लगानी गर्ने विषयमा समझदारीको प्रयास भइरहेको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।