घरेलु कामदार रोकिँदा बहराइनका राजपरिवार असन्तुष्ट

काठमाडौं । बहराइनका राजपरिवार, प्रधानमन्त्री, मन्त्रीहरूसहितका पदाधिकारीले घरबिदामा नेपाल गएका घरेलु कामदारलाई फर्कने इजाजत दिन नेपाल सरकारसँग अनुरोध गरेका छन् ।

बहराइनको राजधानी मन्मास्थित नेपाली दूतावासलाई पत्र पठाउँदै उनीहरूले बिनाकारण कामदार रोकिएकोमा असन्तुष्टिसमेत जनाएका छन् ।

कामदार रोकिनुको कारणबारे राजदरबारलगायत निकायबाट दूतावासमा दिनहुँ औपचारिक र अनौपचारिक सोधपुछ भइरहेको छ ।

गत चैत २० गते संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी देशमा दुई देशबीच श्रम सम्झौता नभएसम्म घरेलु कामदार नपठाउन निर्देशन दिएपछि श्रम मन्त्रालयले श्रम स्वीकृतिमा रोक लगाएको छ ।

मन्त्रालयको निर्देशनमा वैदेशिक रोजगार विभागले घरबिदामा फर्केकालाई पुनः काममा जान अनुमति दिएको छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।