ह्वात्तै घटे कतार जाने कामदार

काठमाडौं । वैदेशिक रोजगारीमा कतार जाने नेपाली युवाको संख्या एक महिनायता ह्वात्तै घटेको छ ।

तीन साता अगाडि खाडीका साउदी, कुवेत, बराइन, ओमन, दुबईलगायत दर्जनभन्दा बढी मुलुकले कतारमा लगाएको नाकाबन्दीका कारण त्यहाँ जाने कामदारको संख्यामा गिरावट आएको हो ।

रोजगारीका लागि कतार जाने तयारी अवस्थामा बसेको युवा पनि पर्ख र हेरको अवस्थामा छन् । पछिल्लो समय नेपालीका युवाका लागि कतार पहिलो गन्तव्य बनेको थियो ।

केही महिनासम्म मासिक १२ हजारको संख्यामा युवा रोजगारीकै लागि कतार पलायन भइरहेका थिए । कतारमाथि अन्य खाडी मुलुकले लगाएको नाकाबन्दीसँगै त्यहाँ जानेको संख्यामा गिरावट आएको हो ।

वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका अनुसार जेठ ९ गतेदेखि असार ९ गतेसम्म कतारका लागि आठ हजार दुई सय ३७ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । यो संख्या अहिलो महिनाको तुलनामा चार हजारभन्दा बढीले कम हो । यो सामान्य अवस्थाभन्दा ४० प्रतिशत कम हो ।

कार्यालयका अनुसार जुन ५ भन्दाअघि सरदर दैनिक चार सय कामदारले अन्तिम श्रम स्वीकृति लिन्थे । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।